Logo
१४ भदौ २०८३, आईतबार

राहत बोकेर चीनका दुई ठूला विमान काठमाडौंमा

अक्षरपाटी
२०८३ भदौ १४ , आईतबार ११:०८ मा प्रकाशित

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न चीनले आपत्कालीन राहत सामग्रीसहित उद्धार विशेषज्ञ टोली पठाएको छ। चीनबाट ५० टन राहत सामग्री बोकेका चिनियाँ जनमुक्ति सेनाका वायुसेनाका दुईवटा वाई–२० विमान आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

करिब बिहान ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका दुवै विमानमा राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आएका छन्। उनीहरू आवश्यक उद्धार उपकरणसहित नेपाल आएका हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत ल्याइएको राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी सहभागी थिए। सो अवसरमा चिनियाँ उद्धार विशेषज्ञ टोलीको पनि स्वागत गरिएको थियो।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका चिनियाँ विमान करिब तीन घण्टापछि काठमाडौं अवतरण गरेका हुन्।

दुवै विमानमा गरी करिब ५० टन तौलका १३ हजार २०० थान आपत्कालीन सामग्री नेपाल ल्याइएको दूतावासले जनाएको छ।

उक्त सामग्रीमा बाढीपहिरो प्रभावितका लागि आवश्यक त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट लगायत छन्।

नेपाल–चीन सीमा क्षेत्रसहित देशका विभिन्न स्थानमा बाढी तथा पहिरोले क्षति पुर्‍याएपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।

बाढीपहिरो राहत सामग्री

ट्रेन्डिङ ( साप्ताहिक )