Logo
१८ भदौ २०८३, बिहीबार

रसुवा बाढीले रोक्यो बंगलादेशको बिजुली, भारततर्फ पनि निर्यात घट्यो

अक्षरपाटी
२०८३ भदौ १८ , बिहीबार ०२:०९ मा प्रकाशित

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि नेपालबाट बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात रोकिएको छ । भारततर्फको विद्युत् निर्यातसमेत कटौती गर्नुपरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

बाढीका कारण रसुवा र नुवाकोटका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । उत्पादन तथा प्रसारण संरचनामा क्षति भएपछि निर्यातका लागि उपलब्ध विद्युत् घटेको प्राधिकरणको भनाइ छ ।

नेपालले चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै आएको थियो । ती आयोजनाका संरचनामा बाढीले क्षति पुर्‍याएपछि विद्युत् आपूर्ति रोकिएको हो ।

नेपालले भारत र बंगलादेशतर्फ गरी करिब १ हजार २ सय मेगावाट विद्युत् निर्यातको अनुमति पाए पनि बाढीका कारण उत्पादन घटेपछि भारततर्फको निर्यातसमेत कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ । प्रभावित आयोजना पुनः सञ्चालनमा नआएसम्म विद्युत् निर्यातमा थप दबाब पर्ने देखिएको छ ।

बाढीले विद्युत् उत्पादनमा मात्र क्षति पुर्‍याएको छैन, आयोजनामा कार्यरत श्रमिक तथा कर्मचारीको खोज तथा उद्धारसमेत जटिल बनेको छ । प्रभावित १२ आयोजनामा कार्यरत ९७४ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ ।

लाङटाङ जलविद्युत् आयोजनामा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले सुरुङभित्र प्रवेश गरी खोजी गरिरहेको छ । टोलीले सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी सम्भावित रूपमा फसेका व्यक्तिको खोजी गरिरहेको छ ।

चिलिमे जलविद्युत् आयोजनामा पनि संयुक्त टोली परिचालन गरिएको छ । यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ९३ जनाको टोलीले एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा जमेको लेदो, माटो तथा अन्य अवरोध हटाउने काम गरिरहेको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा पनि नेपाली सेना, गैरसैनिक जनशक्ति र आयोजनाका अधिकारी सम्मिलित टोली परिचालन गरिएको छ । टोलीले पहिरो र लेदोका कारण अवरुद्ध बाटो खुलाउने तथा कार्यालय र आवास क्षेत्रमा पुग्ने पहुँचमार्ग निर्माण गरिरहेको छ ।

भौगोलिक कठिनाइ, पहिरो, लेदो तथा सुरुङभित्र जमेको माटोका कारण खोज तथा उद्धार कार्य जोखिमपूर्ण र चुनौतीपूर्ण बनेको छ । बाढी आएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सम्पर्कविहीन श्रमिक तथा कर्मचारीको अवस्था यकिन हुन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण विद्युत् निर्यात

ट्रेन्डिङ ( साप्ताहिक )