



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विपत्तिको समयमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट हेर्न नहुने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले विपत्तिको सुरुवाती घण्टादेखि नै सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी उद्धार, उपचार तथा राहतको काम अघि बढाएको दाबी गरे।
उनले विपत्तिको समयमा सरकारको तत्परतामाथि प्रश्न उठाउने अवस्था आफूले नदेखेको बताए। घाइतेहरूको उद्धार तथा उपचारदेखि विस्थापित परिवारका लागि अस्थायी बसोबास र खाद्यान्न व्यवस्थापनसम्म सरकारले काम गरिरहेको उनको भनाइ थियो।
प्रभावित क्षेत्रमा बाटो, सञ्चार र मौसमको प्रतिकूलताजस्ता चुनौती रहे पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगिरहेको उनले बताए।
‘कतिपय ठाउँमा बाटो छैन, सञ्चार छैन, मौसम अनुकूल छैन। तर ती सबै कठिनाइका बीच पनि उद्धार तथा राहतकर्मी प्रभावित नागरिकसम्म पुगेका छन्,’उनले भने।
लामिछानेका अनुसार बाढी प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी उद्धार, राहत र पुनर्स्थापनालाई प्राथमिकतामा राखिएको छ। क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानीलगायत अत्यावश्यक पूर्वाधार पुनः सञ्चालनमा ल्याउने कामसमेत अघि बढाइएको उनले बताए।
‘राज्य कहाँ छ ?’ भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाउनेहरूलाई जवाफ दिँदै लामिछानेले राज्य अहिले विपद्मा फसेका नागरिकको जीवन खोज्नमै केन्द्रित रहेको बताए।
‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावशेष र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ,’ उनले भने।
सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको छाहारी बन्न राज्य रातदिन खटिरहेको उनको भनाइ थियो। बाढीले बगाएका सडक र चुँडिएका पुल पुनर्निर्माणसँगै विपद्ले नागरिकको मनमा टुटाएको भरोसा जोड्ने प्रयासमा समेत राज्य केन्द्रित हुनुपर्ने उनले बताए।
लामिछानेले विपत्तिको समयमा सरकारको कामलाई सत्ता र प्रतिपक्षको राजनीतिक चस्माबाट नभई मानवीय संवेदना र नागरिकको जीवनसँग जोडेर हेर्नुपर्नेमा जोड दिए।
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी

