



काठमाडौं । भोटेकोशी बाढीका कारण नुवाकोट–रसुवा जोड्ने वैकल्पिक मार्ग निर्माण प्रक्रिया अघि बढाइएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको सूर्यगढी गाउँपालिका–२ तल्लो कुवापानीस्थित बिमिरेखोलादेखि रसुवाको नौकुण्ड गाउँपालिका–५ वहाखोलासम्म पर्ने फलाँखु खोलामा ७५ मिटर लामो बेलीब्रिज निर्माण गर्न लागिएको हो।
सम्बन्धित पालिका अध्यक्षबाट आएको अनुरोधका आधारमा बेलीब्रिज निर्माणका लागि मन्त्रालयले आवश्यक निर्देशन तथा सहजीकरण अघि बढाएको जनाएको छ।
बेलीब्रिज निर्माण सम्पन्न भएपछि नुवाकोट र रसुवा जोड्ने छोटो तथा वैकल्पिक सडक मार्ग तयार हुने मन्त्रालयको भनाइ छ। यसले भोटेकोशी बाढीका कारण प्रभावित भएको विद्यमान सडक सञ्जालको विकल्पका रूपमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार प्रस्तावित मार्गबाट फलाँखु खोलाबाट विदुरसम्मको दूरी करिब २३ किलोमिटर र रसुवाको धुन्चेसम्म करिब ३५ किलोमिटर हुनेछ। यसले रसुवातर्फको आवतजावत तथा सामान ढुवानीमा देखिएको कठिनाइ कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।


