



काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा विशेषज्ञ सेवा लिन क्षेत्रगत विज्ञहरूको राष्ट्रिय रोस्टर तयार गर्ने भएको छ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै योग्यता तथा अनुभव पुगेका इच्छुक नेपाली नागरिकलाई २०८३ असोज ८ गतेभित्र आवेदन दिन आह्वान गरेको हो।
मन्त्रालयका अनुसार नीति तथा कानून निर्माण एवं समीक्षा, योजना तथा कार्यक्रम तर्जुमा, अध्ययन तथा अनुसन्धान, अनुगमन तथा मूल्याङ्कन, तालिम तथा क्षमता विकास र प्राविधिक तथा विषयगत परामर्शलगायतका कामलाई थप प्रभावकारी, तथ्यमा आधारित र विशेषज्ञतामुखी बनाउन विज्ञहरूको व्यवस्थित सूची तयार गर्न लागिएको हो।
१२ क्षेत्रका विज्ञबाट आवेदन आह्वान
मन्त्रालयले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा विशेषज्ञता र अनुभव भएका व्यक्तिबाट आवेदन मागेको छ।
मन्त्रालयको आवश्यकता र कार्यक्षेत्रसँग सम्बन्धित अन्य विषयमा विज्ञता हासिल गरेका व्यक्तिले समेत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।
कम्तीमा स्नातक योग्यता अनिवार्य
रोस्टरमा सूचीकृत हुन इच्छुक आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ। त्यसैगरी, प्रचलित कानूनबमोजिम कुनै पद वा जिम्मेवारीका लागि अयोग्य नठहरिएको हुनुपर्ने मन्त्रालयले जनाएको छ।
आवेदनसँग नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र, अद्यावधिक वैयक्तिक विवरण अध्ययन, अनुसन्धान वा प्रकाशनसम्बन्धी विवरण भए सोसमेत तथा आफ्नो विज्ञता र विशेषज्ञता पुष्टि हुने आवश्यक कागजात संलग्न गर्नुपर्नेछ। मन्त्रालयले तोकेको प्रक्रियाअनुसार आवेदन अनलाइन वा भौतिक रूपमा पेश गर्न सकिनेछ।
असोज ८ गतेसम्म आवेदन माग
मन्त्रालयले आवेदन दिने अन्तिम मिति २०८३ असोज ८ गते तोकेको छ। तोकिएको समयपछि प्राप्त आवेदनमाथि कुनै कारबाही नगरिने सूचनामा भनिएको छ। प्राप्त आवेदन र संलग्न कागजातको अध्ययन तथा परीक्षणपछि न्यूनतम योग्यता र आवश्यक अनुभव पूरा गरेका व्यक्तिलाई सम्बन्धित विज्ञताको क्षेत्रअनुसार रोस्टरमा समावेश गरिनेछ।
आवेदकको शैक्षिक योग्यता, कार्यानुभव, विशेषज्ञता तथा अन्य विवरण आवश्यकता अनुसार सरकारी निकाय, सार्वजनिक संस्था, शैक्षिक तथा पेशागत संस्था वा अन्य सम्बन्धित निकायबाट आवश्यक सन्दर्भ तथा जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ।
रोस्टरमा पर्नु नियुक्ति होइन
मन्त्रालयले रोस्टरमा सूचीकृत हुनु नियुक्ति वा रोजगारीको सुनिश्चितता नभएको स्पष्ट पारेको छ। सूचीमा नाम समावेश भएकै आधारमा कुनै विज्ञले मन्त्रालयबाट स्वतः काम, जिम्मेवारी वा पारिश्रमिक पाउने अधिकार सिर्जना नहुने मन्त्रालयले जनाएको छ।
आवश्यकता, सम्बन्धित विषयमा विज्ञको उपयुक्तता तथा प्रचलित कानून र स्वीकृत प्रक्रियाका आधारमा रोस्टरमा रहेका विज्ञबाट विशेषज्ञ सेवा लिन सकिने जनाएको छ।
रोस्टरमा सूचीकृत विज्ञहरूको विशेषज्ञता महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, सामाजिक सुरक्षा, दलित, मधेशी, मुस्लिम तथा सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा उपयोग गरिने मन्त्रालयले जनाएको छ।
विशेषगरी नीति तथा कानूनको तर्जुमा र समीक्षा, अध्ययन तथा अनुसन्धान, योजना तथा कार्यक्रम निर्माण, अनुगमन तथा मूल्याङ्कन, तालिम तथा क्षमता विकास एवं विषयगत परामर्शमा विज्ञहरूको सेवा लिन सकिने मन्त्रालयको सूचनामा उल्लेख छ।
विभिन्न सामाजिक समूहसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयका नीति तथा कार्यक्रमलाई अनुसन्धान, अनुभव र विषयगत ज्ञानसँग जोड्न व्यवस्थित रोस्टर उपयोगी हुने अपेक्षा गरिएको छ। आवश्यक परेको समयमा सम्बन्धित क्षेत्रको उपयुक्त विज्ञ पहिचान गरी विशेषज्ञ सेवा परिचालन गर्नसमेत यसले मन्त्रालयलाई सहज बनाउने विश्वास गरिएको छ।
विज्ञको रोस्टर

