Logo
४ असोज २०८३, आईतबार

नयाँ प्रणालीमार्फत लाइसेन्स छपाइ सुरु

अक्षरपाटी
२०८३ असोज ४ , आईतबार ०१:०९ मा प्रकाशित

काठमाडौं, ४ असोज । सरकारले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र छपाइको काम सुरु गरेको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको बढ्दो चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको जनाएको छ।

नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै नयाँ लाइसेन्स लिने तथा पुरानो लाइसेन्स नवीकरण गर्ने सेवाग्राहीलाई छिटो र सहज रूपमा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयको दावी छ।

नयाँ प्रणालीमा सेवाग्राहीको विवरण ईडीएलभिआरएसमा अपलोड भएपछि उक्त विवरण सिधै सुरक्षण मुद्रणमा पुग्ने व्यवस्था गरिएको छ। सुरक्षण मुद्रणले सोही विवरणका आधारमा लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउनेछ। त्यसपछि सेवाग्राहीले सम्बन्धित कार्यालयबाट लाइसेन्स प्राप्त गर्न सक्नेछन्।

नयाँ प्रणालीअन्तर्गत पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छपाइ गरिएको मन्त्रालयले जनाएको छ। छपाइ भएका लाइसेन्स वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइसकिएको मन्त्रालयले जनाएको छ।

सरकारले प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा सवारी चालक अनुमतिपत्र छपाइ गर्न सक्ने व्यवस्था मिलाएको छ। सोही व्यवस्थाअनुसार मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको मन्त्रालयले जनाएको छ।

लाइसेन्स छपाइ

ट्रेन्डिङ ( साप्ताहिक )