Logo
१० कात्तिक २०८३, मंगलबार

एआईमा लगानी बढाउँदै माइक्रोसफ्ट, ६० हजार कर्मचारीलाई जागिर छाड्ने प्रस्ताव

अक्षरपाटी
२०८३ कात्तिक १० , मंगलबार ११:१० मा प्रकाशित

विश्वभरका २ लाख २३ हजार कर्मचारीमध्ये २७ प्रतिशत योजनाको दायरामा, भारतसहित चार देशका कर्मचारी प्रभावित हुने

काठमाडौं। कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा अर्बौं डलर लगानी बढाइरहेको विश्वप्रसिद्ध प्रविधि कम्पनी माइक्रोसफ्टले करिब ६० हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने प्रस्ताव अघि सारेको छ।

एआई प्रविधि र डाटा सेन्टर निर्माणमा बढ्दो खर्च व्यवस्थापन गर्न कम्पनीले ठूलो संख्यामा कर्मचारीलाई आर्थिक सुविधासहित जागिर छाड्ने विकल्प दिएको हो। माइक्रोसफ्टले सोमबार अर्थात २६ अक्टोबरमा सार्वजनिक गरेको ‘भोलन्टरी एक्जिट अफर’ अर्थात् स्वेच्छिक बहिर्गमन योजनाअन्तर्गत अमेरिका, भारत, बेलायत र क्यानडाका योग्य कर्मचारीलाई यस्तो प्रस्ताव गरिएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार यो योजनाको दायरामा कम्पनीका करिब ६० हजार कर्मचारी पर्न सक्छन्। यो संख्या माइक्रोसफ्टको कुल जनशक्तिको झन्डै २७ प्रतिशत हो। सन् २०२६ जुनको अन्त्यसम्म माइक्रोसफ्टमा विश्वभर दुई लाख २३ हजार पूर्णकालीन कर्मचारी कार्यरत थिए।

जागिर छाड्नेलाई आर्थिक सुविधा

कम्पनीले नयाँ योजनाअन्तर्गत जागिर छाड्न इच्छुक कर्मचारीलाई आर्थिक प्याकेज र भविष्यको पेसागत योजना बनाउन सहयोग उपलब्ध गराउने जनाएको छ। माइक्रोसफ्टकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख मानव संसाधन अधिकारी एमी कोलम्यानले कर्मचारीलाई पठाएको सन्देशमा कम्पनीको बदलिँदो आवश्यकता र कार्यशैलीअनुसार जनशक्ति व्यवस्थापन गर्न नयाँ विकल्प ल्याइएको उल्लेख गरेकी छन्।

उनका अनुसार यो योजना कर्मचारीलाई जबर्जस्ती हटाउने नभई इच्छुक व्यक्तिलाई सम्मानजनक रूपमा नयाँ अवसरतर्फ अघि बढ्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो। योजनामा कम्पनीको तह ७० वा त्यसभन्दा तल्लो तहमा कार्यरत योग्य कर्मचारी सहभागी हुन सक्नेछन्। यद्यपि, सबै विभागका कर्मचारीलाई यो सुविधा उपलब्ध हुनेछैन।

एआईमा १७५ अर्ब डलर लगानीको योजना

एआईको प्रभाव माइक्रोसफ्ट कम्पनीमा पनि देखिन थालेको छ। एआईले मानव जीवनमा सकारात्मक मात्र होइन ठूलो नकारात्मक प्रभाव पार्ने चिन्ता चुलिँदो छ। कैयाैँ चालकहरु, हस्पिटालिटी, ट्राफिक व्यवस्थापन मात्र होइन अब हरेक कम्पनीमा धेरैले जागिर गुमाउनुपर्ने चिन्ता बढिरहेका बेला माइक्रोसफ्ट कम्पनीले पनि स्वैच्छिक अवकासको योजना ल्याएको हो।

माइक्रोसफ्टले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आफ्नो प्रभाव विस्तार गर्न डाटा सेन्टर, अत्याधुनिक कम्प्युटिङ प्रणाली तथा अन्य पूर्वाधारमा ठूलो लगानी गरिरहेको छ। रोयटर्सका अनुसार कम्पनीले सन् २०२६ मा करिब १७५ अर्ब अमेरिकी डलर पुँजीगत खर्च हुने प्रक्षेपण गरेको छ।

एआई प्रविधिको तीव्र विकाससँगै डाटा सेन्टर सञ्चालन, उच्च क्षमताका चिप, प्रशोधन उपकरण र विद्युत्को माग बढेको छ। यसले प्रविधि कम्पनीहरूको सञ्चालन खर्चसमेत बढाइरहेको छ। यही परिस्थितिमा माइक्रोसफ्टले खर्च व्यवस्थापनसँगै जनशक्तिको संरचना परिवर्तन गर्ने नीति अघि सारेको हो।

यसअघि पनि हजारौं कर्मचारी कटौती

माइक्रोसफ्टले यसअघि पनि कर्मचारी व्यवस्थापनका विभिन्न योजना अघि सारेको थियो। कम्पनीले यसै वर्ष अमेरिकाका करिब नौ हजार कर्मचारीलाई स्वेच्छिक रूपमा जागिर छाड्ने अवसर दिने योजना ल्याएको थियो।

त्यसपछि जुलाईमा थप चार हजार आठ सय कर्मचारी कटौती गर्ने घोषणा गरिएको थियो। उक्त निर्णयबाट विशेषगरी कम्पनीको एक्सबक्स गेमिङ व्यवसाय प्रभावित भएको थियो। पछिल्लो योजनामा भने एआई, कोपाइलट, वित्त, मानव संसाधन, एक्सबक्स तथा विन्डोजसँग सम्बन्धित विभिन्न विभागका कर्मचारी समेटिएका छन्।

डिसेम्बरसम्म निर्णय लिनुपर्ने

नयाँ योजनाअन्तर्गत योग्य कर्मचारीले डिसेम्बरको सुरुवातसम्म प्रस्ताव स्वीकार गर्ने वा नगर्ने निर्णय लिनुपर्ने बताइएको छ। प्रस्ताव स्वीकार गर्ने कर्मचारीको रोजगारी डिसेम्बर ३१ मा समाप्त हुने व्यवस्था रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यद्यपि, माइक्रोसफ्टले यो योजनाबाट कति कर्मचारीले वास्तवमै जागिर छाड्नेछन् भन्ने लक्ष्य सार्वजनिक गरेको छैन। कृत्रिम बुद्धिमत्तामा बढ्दो लगानीसँगै विश्वका ठूला प्रविधि कम्पनीहरूको जनशक्ति व्यवस्थापनमा समेत परिवर्तन देखिन थालेको छ।
ब
माइक्रोसफ्टको पछिल्लो निर्णयले एआईमा भइरहेको व्यापक लगानी, खर्च नियन्त्रण र प्रविधि क्षेत्रमा रोजगारीको बदलिँदो स्वरूपलाई फेरि चर्चामा ल्याएको छ।

एआई माइक्रोसफ्ट

ट्रेन्डिङ ( साप्ताहिक )