


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदै छन्। पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विराटनगर र चितवनबीचको खेल मध्याह्न १२ः३० बजे सुरु हुनेछ। यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ बजे हुनेछ।
आज मैदानमा उत्रने चार टोलीमध्ये जनकपुर बोल्ट्सले मात्रै यसअघि एनपीएलको उपाधि जितेको छ। जनकपुर यसपटक पनि उपाधि जित्दै आफ्नो सफलता दोहोर्याउने लक्ष्यमा हुनेछ। पहिलो उपाधिको खोजीमा रहेको कर्णाली याक्स पनि जनकपुरलाई चुनौती दिने तयारीमा छ।
यस्तै, पहिलो खेलमा आमनेसामने हुने विराटनगर किङ्ग्स र चितवन राइनोज पनि जित निकाल्दै उपाधि यात्रालाई बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रनेछन्।
यस संस्करणको एनपीएलमा केही नयाँ व्यवस्था पनि थपिएका छन्। पहिलोपटक प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम (डीआरएस) लागू गरिएको छ। साथै, अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले पहिलोपटक एनपीएललाई अन्तर्राष्ट्रिय मान्यता दिएको छ।
क्यानले यसपटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाएको छ। उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ।
एनपीएल नेपाल प्रिमियर लिग

