Logo
२३ माघ २०८१, बुधबार

प्रेस काउन्सिलद्धारा दश अनलाइन मिडियामाथि प्रतिबन्ध

अक्षरपाटी
२०८१ माघ २१ , सोमबार ०४:०२ मा प्रकाशित

काठमाडौं । प्रेस काउन्सिल नेपालले १० ओटा अनलाइन मिडियालाई कालो सूचीमा राखेको छ । आचारसंहिता पालना नगरेको भन्दै ती अनलाइनलाई कालो सूचीमा राखिएको हो।

एवीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशी पोस्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोस्ट डटकम र नेपालकथा डटकम गरी ६ ओटा सञ्चारमाध्यमलाई थप कारबाही अगाडि बढाइएको छ । सूचीमा राखिएका मध्ये टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलास अनलाइन डटकमले क्षमायाचना गरेका छन् ।

आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता व्यक्त गरेपछि उनीहरूलाई भने कालो सूचीबाट फुकुवा गरेको काउन्सिलले जनाएको हो ।

प्रेस काउन्सिलले ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरण सम्बन्धी कार्य विधि २०८०’ बनाएर यसको कार्यविधि अनुसार नियमित अनुगमन गरिरहेको जनाएको छ । जस मार्फत् २०८१ साउनदेखि माघ १५ गतेसम्म हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वेष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने चार ओटा युट्युब च्यानल, फेसबुक पेज १ तथा ५ अनलाइनलाई निर्देशन र ४ ओटालाई सचेत गराइएको छ ।

हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल सहितको शीर्षक दिएर भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने मिडियाको रूपमा दर्ता सूचीकरण नभएका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ ।