Logo
१६ वैशाख २०८२, मंगलबार

सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत भ्रमणमा

अक्षरपाटी
२०८२ वैशाख १६ , मंगलबार ०३:०४ मा प्रकाशित

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह दश जनाको टोली बोकेर भारत भ्रमणमा गएका छन्। भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह वैशाख १६ गतेदेखि २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्।

भारत जानु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री शाहले दिल्ली हुँदै देहरादुन र लखनउजस्ता सहरहरूको भ्रमण गर्ने जानकारी दिए। भ्रमणले प्रदेश सरकारहरूबीच राम्रो सम्बन्ध स्थापना गर्न र सहयोग आदानप्रदानमा सहजता ल्याउन मद्दत गर्ने उनको विश्वास छ।

‘हामीले विभिन्न चरणमा विभिन्न तरिकाले हाम्रो पर्यटनको विकास, कृषिको विकास र पूर्वाधारका विकासमापनि भारत सरकारको सहयोग आएकै छ। थप सहयोगको पनि हामीले अपेक्षा गर्ने नै भयौं। मलाई लाग्छ यो भ्रमणले प्रदेश सरकारबीचमापनि राम्रो सम्बन्ध निर्माण हुने वातावरण हुन्छ। त्यसैले हामीले दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुन्छ,’उनले भने।

भ्रमणका क्रममा कुनै औपचारिक सम्झौता भने नहुने जनाइएको छ।

मुख्यमन्त्री शाहको नेतृत्वमा भारत गएका टोलीमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेश सरकारका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरत कुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन्।

सुदूरपश्चिम प्रदेश