कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या भएको ठहर प्रहरीले गरेको छ।
प्रहरीले १६ दिने सुत्केरी नाथको हत्या गरेको अभियोगमा उनकै सहोदर देवर नवीन नाथलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले नवीनलाई पक्राउ गरिएको बताए।
नवीले प्रहरीलाई दिएको बयानमा भनेका छन्, ‘उहाँले कानमा लगाएको गहना निकाले र शव बाहिर लगेर नालीमा फालिदिएँ।’
शवको पोस्टमार्टम हुन बाँकी भएपनि घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर प्रहरीको छ।
यद्यपि अन्य पाटोमा पनि अध्ययन जारी राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको सूचनाका आधारमा प्रहरी अभियुक्त पक्रन सफल भएको हो।
शवमा कुनै घाउ चोट नदेखिएपछि विष सेवनबाट वा सर्पको टोकाइबाट मृत्यु भएको आकलन गरियो। तर प्रहरीले अन्य कोणबाट पनि यो हत्या प्रकरणलाई अनुसन्धान गरेको बताएको छ।
मृततकको घरमा उनका देवर, देउरानी र एउटा ९ कक्षमा पढ्ने नन्द थिइन्।
घटना भएको रातमा पनि सुत्केरी भाउजूलाई आफूले खाना पकाएर खुवाएको बयान दिएका देवरबाटै घटना भएको हुनसक्ने आशंकामा प्रहरीले शनिबारसम्म हेरेको थियो।
नवीन नाथले सुरुमा प्रहरीलाई दिएको बयान र पछि अनुसन्धानका क्रममा भनेको विषय केही फरक पर्न थालेपछि उनी शङ्काको घेरामा परेका थिए।
‘सुरुबाटै मलाई हेप्ने गरेको हुँदा रिस उठेको थियो। त्यही रिसमा मैले सिरानीले मुख थुनेर मारेको हुँ’, शनिवार उनले प्रहरीलाई आफै भनेको प्रहरीको भनाइ छ।