काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको समर्थनमा हस्ताक्षर अभियानमा सहभागी भएको आरोपमा ट्राफिक प्रहरी सई कमल खड्काको जिम्मेवारी खोसिएको छ।
नेपालगञ्जमा कार्यरत सई खड्कालाई नेपाल प्रहरी मुख्यालय, नक्साल तानिएको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले सई खड्कालाई मुख्यालय झिकाइएको पुष्टि गरेका छन्।
सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछानेको पक्षमा रास्वपाले “राजनीतिक प्रतिशोधविरुद्ध” भन्दै नागरिक हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो। उक्त अभियानमा ट्राफिक सई खड्काले समेत हस्ताक्षर गरेका थिए।
उनको हस्ताक्षर गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी संगठनभित्र छानबिनको थालनी भएको थियो।
सार्वजनिक रूपमा राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने सरकारी कर्मचारीको मर्यादा उल्लंघन भएको ठहर गर्दै उनलाई हाल सेवा जिम्मेवारीबाट हटाइएको प्रहरीले जनाएको छ।
रास्वपाले भने लामिछानेमाथि लगाइएको आरोपलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ।
रवि लामिछाने