Logo
३ भदौ २०८२, मंगलबार

नयाँ मञ्चमा पुरानै वाचा दोहोर्याउँदै पूर्वमन्त्री साउँद

अक्षरपाटी
२०८२ साउन १८ , आईतबार ०६:०८ मा प्रकाशित

o अक्षरपाटी विषेश संवादाता

कञ्चनपुर

शुक्लाफाँटा नगरपालिका वडा नम्बर २ कञ्चनपुर ।
२०८२ साल साउन १८ गते आइतबार ।
नेपाली कांग्रेसका नेता, सांसद तथा पूर्वमन्त्री एनपी साउँदले रानीपुरमा जनतासामु सम्बोध गरे।

उनले भने, ‘अबको दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पुर्याछौँ ।’

उनले उठान गरेको यो मुद्दा आजको होइन ।

०७४ को निर्वाचन र गत स्थानीय निर्वाचनमा पनि दलहरुले यही मुद्दालाई प्रमुख एजेन्डा बनाएका थिए। उनीहरुले भनेका थिए- ‘चुनाव जितेको एक वर्षभित्र भूमिहीनको हात हातमा लालपूर्जा पुर्याउने छौँ।’

२०७९ साल कात्तिक २१ गते सोमबार ।

सुकम्बासीलाई बसेकै ठाउँमा लालपूर्जा दिने लोकतान्त्रिक बाम गठबन्धनको प्रतिबद्धता थियाे।

कञ्चनपुरका लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारले संयुक्तरुपमा घोषणापत्र जारी गर्दै भनेका थिए- ‘अव्यवस्थित बसोबासीलाई बसेकै ठाउँमा लालपूर्जा उपलब्ध गराउने प्रतिबद्धता गरेका छौँ।’

जुन कुरा घोषणापत्रमा पनि समेटिएको थियो- ‘अव्यवस्थित बसोबासीको चलन भोगमा रहेको जग्गाको यथाशीध्र जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइने छ।’

पाँच प्रतिशतभन्दा कम राजस्वको व्यवस्था गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रतिबद्धता घोषणापत्रमा गरिएको थियो।

‘पुर्खौंदेखि स्वामित्वको जग्गा नभएका सुकुम्बासी परिवारलाई एकीकृत आवासको व्यवस्था गर्ने, कुनै पनि परिवारलाई उठिबास वा विस्थापनमा पार्ने कार्यको अन्त्य गरिने छु, घोषणा पत्र जारी गर्दै २०७९ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार रहेका एनपी साउँदले भनेका थिए, ‘बसोबासको विकल्प नहुँदा सडक सीमा जोखिम क्षेत्र वा संरक्षित क्षेत्रमा बस्दै आइरहेकालाई उचित विकल्पसहितको व्यवस्थापन गरिने छ।’

२०७९ कात्तिक २५ गते शुक्रबार ।

कञ्चनपुर–२ : उम्मेदवारको चुनावी वाचा भूमिहीनलाई छिट्टै लालपूर्जा दिने थियो। घोषणापत्र जारी भएलगत्तै कञ्चनपुर २ बाट उम्मेद्वार बनेका साउँदले चिर्वाचन क्षेत्रको चुनावी सभामा सम्बोधन गर्दै भूमिहीन नागरिकलाई छिट्टै जग्गाधनी पूर्जा दिलाउने बताएका थिए।

उनले भनेका थिए, ‘यहाँ जग्गाधनी पूर्जा नपाएका थुप्रै नागरिक छन्। यो मेरो मुख्य मुद्दा हो । म निर्वाचित भएको एक- डेढ वर्षभित्र जनताका हातहातमा लालपूर्जा उपलब्ध गराउने गरी काम गर्नेछु।’

साेही क्षेत्रबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामीले पनि जग्गाधनी पूर्जा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।

‘यहाँका धेरैजसो जग्गा ऐलानी छन् तर जनताले कब्जा गरेर बसेका होइनन्। तत्कालीन राष्ट्र प्रमुखको निर्देशनमा बर्माबाट आएर यहाँ बसेका हुन्’, धामीले भने, ‘जग्गाधनी पूर्जा दिने काम हामीले अगाडि बढाएका छौँ। त्यो अहिलेसम्म पूरा हुन सकेको छैन। म निर्वाचित भए यसलाई अगाडि बढाउँछु।’ अहिले उनीकाे स्वर नसुनिने गरेको स्थानीयको गुनासाे छ।

वाचामाथि वाचा, थपिँदै भाका
वर्षौंदेखि पीडा खेप्दै आएका सुकुम्बासी, बाढीपीडित, सीमान्तकृत नागरिकको समस्या भूमि आयोगद्वारा सामाधान गरिने वाचा आज पनि पुरा भएको छैन । वाचा गर्ने साउँद सांसद मात्र होइन परराष्ट्रमन्त्री समेत बने तर वाचामाथि वाचा र भाका माथि भाका थपिँदै गएको छ।

यो कुरा आज २०८२ साउन १८ गते आइतबार साउँद कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ रानीपुरमा पुगेर फेरि भने, ‘दुई वर्षभित्र भूमिहीनको हातहातमा लालपूर्जा पुर्याउँछु।’

कार्यक्रममा उनले भूमि आयोगलाई जनशक्ति थपेर भए पनि तीव्रता दिन निर्देशन पनि दिए। चुनावी घोषणापत्रमा पाँच प्रतिशतभन्दा कम राजस्वको व्यवस्था गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउने प्रतिबद्धता गरे पनि उनले आजको सम्बोधनमा भने अव्यवस्थित बसोवासीले तिर्नुपर्ने जग्गाको शुल्क ८० प्रतिशतबाट घटाएर २० प्रतिशतभन्दा कम गरिएको सुनाए।

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (तत्कालीन आरक्ष) बाट विस्थापित भएकाहरुको समस्या सँधैको चुनावमा मुद्दा बन्ने गर्छ।

विस्थापित परिवारको व्यवस्थापन गर्ने हरेक चुनावमा भनिन्छ । आरक्ष विस्थापित परिवारले चुनावका बेला समस्या समाधान गर्ने आश्वासन पाएको धेरै भयो, तर व्यवस्था भने भएको छैन।

आज साउँदले गरेको प्रतिवद्धता पनि २०८४ को चुनावको तयारीका रुपमा धेरैले टिप्पणी गरेका छन्।

भूमिहीन र सुकुम्बासीहरुले भने यसलाई दलहरुले स्थायी चुनावी चारो बनाएको रुपमा बुझ्दै आएका छन्।

पुराना बाचा, नयाँ झुट
स्थानीय बासिन्दाको आरोप छ— आरक्ष पीडित भन्छन् : आश्वासन मात्रै पायौं, जग्गा पाएनौं । नेता साउँद मात्र होइन, यस क्षेत्रबाट चुनाव लड्ने हरेक दलका नेताहरु पटक–पटक आउने, भूमिहीनकै समस्यालाई मुद्दा बनाउने गर्छन। तर कार्यान्वयन गर्नसक्ने ठाउँमा पुग्दा आसेपासेकै मुद्दामा अल्झिन्छन्।

हुन पनि नेताहरु जब शक्तिमा हुन्छन्, उनीहरुलाई अरु नै खटनपटनमा फुर्सद हुँदैन। जब शक्तिमा रहँदैनन्, तब जनतामाझ जान्छन र जनताका समस्या देख्छन्, अनि गरिदिन्छन् वाचामाथि वाचा ।

फायल तस्विर

भूमिहीन सुकम्बासी