Logo
२६ साउन २०८२, सोमबार

बहुविवाहलाई मान्यता दिनेगरी कानून संशोधन ‘अश्लीलताको पराकाष्ठा’ : कानुनविद्हरू

अक्षरपाटी
२०८२ साउन १९ , सोमबार ०९:०८ मा प्रकाशित

काठमाडौं । बहुविवाहलाई कानूनी मान्यता दिनेगरी संशोधन हुन लागेको कानूनको चौतर्फी आलोचना भइरहेको छ।

रिपोर्टर्स क्लब नेपालले यस सम्बन्धमा कानुनविद्हरुसँग गरेको साक्षत्कार कार्यक्रममा वरिष्ठ अधिवक्तात्रय रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण नेउपानेले बहुविवाह गर्न पाउनेगरी ल्याइन लागेको कानूनको तीब्र विरोध गरे ।

वरिष्ठ अधिवक्ता बिडारीले महिलालाई दमन हुने प्रकारको कुनै पनि कानुन ल्याइन नहुने बताए ।

उनले भने, ‘लोग्नेमान्छेले माया प्रेममा परेर अर्की आइमाइसँग सम्बन्ध गरेर गर्भाधान पनि गराएछ भने त्यस्तो गर्भाधानबाट बच्चा भएकी आमालाई स्वास्नी कायम हुनेछ भनेर लेखेछ । यस्तो प्रकारको अराजक र अश्लील प्रकारको कानुन, समाज भँडुवा कानुन, नारीलाई दमन गर्ने कानून बनाएछन्।’

संविधानसभा सदस्यममेत रहेका बिडारीले आफूले तत्कालीन समयमा बहुविवाह गर्नेले कुनै पनि सार्वजनिक पद धारण गर्न नमिल्ने व्यवस्था गरौँ भन्ने प्रस्ताव लग्दा एमाले र कांग्रेसले नमानेको बताए।

उनले यस्तै हुँदै जाने हो भने एमाले–कांग्रेसले बहुविवाहमा श्रीमानलाई थुन्दा श्रीमतीको बिजोग भयो, बालबच्चाको बिजोग भयो भनेर कांग्रेस–एमालेले त्यो प्रावधान पनि हटाउन सक्ने उनको भनाइ छ ।

‘५ वर्षसम्म लोग्ने मान्छेलाई जेल हाल्यो भने त बर्वाद हुनेभयो । जेठीलाई कसले कमाएर खुवाउने, कान्छीलाई कसले कमाएर खुवाउने ? बच्चाहरु झन कसले पाल्ने ? यो थुनामा राख्न हुँदैन है भन्न के बेर ?’ प्रश्न गर्दै उनले भने।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहुविवाहलाई मान्यता दिनेगरी ल्याउन लागिएको कानून निन्दनीय रहेको बताए । लोकतान्त्रिक समाजमा यस्तो प्रकारको कानुनको कल्पना पनि गर्न नसकिने उनको भनाइ छ।

‘बहुविवाह अर्को ठूलो सामाजिक भ्रष्टाचार हो । यो निन्दनीय छ । सभ्य समाजमा बहुविवाह हुन सक्दैन । लोकतान्त्रिक समाजमा यसको परिकल्पना पनि गर्न सकिँदैन । यस्तो कानुन जुन ल्याउन खोजिँदैछ । सुनिँदैछ यसको मस्यौदा तयार हुँदैछ । यसको चौतर्फी विरोध गरिनुपर्छ । यो महिलाहरुले मात्रै विरोध गर्ने होइन, हामी पुरुषहरुले पनि विरोध गर्नुपर्छ,’ उनले भने ।

उनले लोकतन्त्रका आधारभूत मूल्य मान्यता, विधिको शासनलाई तिलाञ्जली दिएर, महिलाको अधिकार खोसेर, महिलालाई भेदभाव हुनेगरी कानुन नबनाउन सांसदहरुलाई आग्रह गरे।

‘बहुविवाह भनेको महिलामाथिको हिंसा हो, महिलामाथि गरिएको भेदभाव हो । यो लोकतन्त्रविरोधी कुरा हो, विधिको शासनको विरोधी कुरा हो। यस्ता कुराहरुलाई असभ्यताको पराकाष्ट हो, कलङ्क हो। सारा संसार हाँस्ने छ यदि नेपालमा यस्तो कानुन बन्यो भने,’ उनले भने ।

त्यस्तै, वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले अहिलेको व्यवस्था नै खराब रहेको बताए । अहिलेको व्यवस्था रहेसम्म समाजमा यस्ता प्रकारको विकृति भइरहने उनको भनाइ छ। राजनीतिक दलहरुले आफ्ना कार्यकर्ताहरु मुद्दा मामिलामा परेपछि उनीहरुलाई उन्मुक्ति दिन यस्तो प्रकारको कानून ल्याउन खोजेको उनको आरोप छ।

कानून संशोधन बहुविवाह बालकृष्ण नेउपाने रामनारायण बिडारी