


चौबीसै घण्टा नकारात्मकता र निराशाको ‘गुनासोको गीता’ गाउनु। ‘यो देशमा केही हुँदैन’, ‘यहाँ भविष्य नै छैन’ भन्दै सामाजिक सञ्जालदेखि चिया पसलसम्म निराशा ओकल्नेहरूको जमात ठूलो छ।
वैज्ञानिक थमस एल्वा एडिसन बिजुलीको चिम आविष्कार गर्ने क्रममा १० हजार पटक असफल हुँदा पनि आफ्नो सकारात्मक सोचकै कारण सफल भए।
सन् १९०३ मा राइट दाजुभाइले ‘मानिस आकाशमा उड्न सक्छ’ भन्ने एउटै दृढ सकारात्मक सोचका कारण विश्वकै पहिलो मानव विमान उडाएर इतिहास रचे।
० गणेश जोशी
बाहिरी संसार अरू केही नभएर हाम्रो भित्री सोचको प्रतिविम्ब मात्र हो। ‘सोच नै संसार’ भन्ने दर्शनले यही सत्यलाई उजागर गर्दछ। सोच विचारहरूको त्यो संगालो हो, जसले मानिसको व्यक्तित्व, दृष्टिकोण र भाग्यको निर्माण गर्दछ। यो केवल दिमागमा आउने आकस्मिक तरंग मात्र होइन, यो त शक्ति र सृजनाको त्यो महा-आधार हो, जसको जगमा मानव सभ्यताको विकास भएको छ।
ब्रह्माण्डमा भएका सम्पूर्ण विकासका पाटाहरूको सुरुवात मानिसको मस्तिष्कमा उब्जिएको एउटा सानो विचार वा सोचबाटै भएको हो। इतिहासको ऐनामा परिकल्पनाको शक्तिइतिहास साक्षी छ, मानव सभ्यताका ठूला-ठूला संरचना, निर्माण, आविश्कार र परिवर्तनहरू भौतिक रूपमा देखिनु पहिले ती कसैको मस्तिष्कमा एउटा विचारको रूपमा जन्मिएका थिए।
ईसा पूर्व २५६० मा निर्मित मिश्र (इजिप्ट) को गिजाको पिरामिडलाई हेरौँ। आधुनिक क्रेन र प्रविधि नभएको त्यो युगमा २३ लाख बडेमानका ढुङ्गाहरूको प्रयोग गरेर त्यति विशाल संरचना बनाउनु केवल शारीरिक श्रमको उपज थिएन, त्यो त सामूहिक दृढ सोचको विजय थियो।
हाम्रै नेपालको इतिहासलाई नियाल्ने हो भने पनि १३ औँ शताब्दीमा कलाकार अरनिकोले काठमाडौँ उपत्यकादेखि तिब्बत र चीनसम्म पुगेर प्यागोडा शैलीको वास्तुकला विस्तार गरे। बेइजिङमा आज पनि ठिङ्ग उभिएको सेतो प्यागोडा (White Dagoba) को निर्माण हुनुअघि, त्यो कला अरनिकोको मस्तिष्कको सकारात्मक सोच र परिकल्पनामा तयार भइसकेको थियो।
सोचले नै ढुङ्गा र माटोलाई पनि जीवन्त कलामा बदल्ने ऊर्जा दिन्छ। सृजना र विनाशको दुई किनारा संसारमा सकारात्मक र नकारात्मक गरी दुई प्रकारका ऊर्जा विद्यमान छन्। सकारात्मक सोचले सधैं सृजना, निर्माण र विकासको मार्ग रोज्दछ।
ईसा पूर्व २६०० तिरको सिन्धु घाटीको सभ्यतालाई हेर्ने हो भने, उनीहरूले विश्वकै पहिलो शहरी ढल निकास र ग्रिड-आधारित शहरको विकास गरे। उनीहरूको सोचले भव्य राजप्रासाद निर्माण गर्नुभन्दा नागरिकको स्वास्थ्य र सामुदायिक कल्याणलाई प्राथमिकता दियो।
यसको ठीक विपरीत, नकारात्मक सोचले विनाश र पतन निम्त्याउँछ। विश्व स्वास्थ्य संगठन (WHO) को हालैका तथ्याङ्कहरू अनुसार, आज संसारमा डिप्रेसन र एन्जाइटीका कारण विश्व अर्थतन्त्रलाई प्रतिवर्ष १ ट्रिलियन डलर (सयौँ खर्ब रुपैयाँ) उत्पादकत्व घाटा भइरहेको छ।
नकारात्मक सोचले मानिसको शरीरमा ‘कर्टिसोल’ जस्ता हानिकारक हर्मोनहरू बढाउँछ। स्वास्थ्य अनुसन्धानहरूले देखाउँछन् कि अस्पताल पुग्ने ७५ देखि ९० प्रतिशत बिरामीहरूको शारीरिक रोगको मुख्य जड मानसिक तनाव र नकारात्मक सोच नै हुने गर्दछ। प्रगति र दुर्गतिको सीमा रेखा केवल सोचले नै निर्धारण गर्दछ।
नेपाली परिवेश:
निराशाको भाष्य र रूपान्तरणको यथार्थ आज हाम्रो नेपाली समाजमा एउटा घातक प्रवृत्ति मौलाउँदै गएको छ। चौबीसै घण्टा नकारात्मकता र निराशाको ‘गुनासोको गीता’ गाउनु। ‘यो देशमा केही हुँदैन’, ‘यहाँ भविष्य नै छैन’ भन्दै सामाजिक सञ्जालदेखि चिया पसलसम्म निराशा ओकल्नेहरूको जमात ठूलो छ। यस्ता मानिसहरू आफ्नो असफलताको दोष कहिल्यै आफ्ना कमजोरी वा सोचलाई दिँदैनन्, बरु आफ्नै निधार वा भाग्य (पुरपुरो) मा हात लगाउँदै देश, व्यवस्था र परिस्थितिलाई धिक्कार्छन्।
नकारात्मकताको यो जालोले समाजलाई मानसिक रूपमा रोगी र उद्यमशीलताका हिसाबले दरिद्र बनाउँदै लगेको छ। तर, निराशाको यो कुहिरोभित्र लुकेर बसेको नेपालले पछिल्ला वर्षहरूमा सकारात्मक सोच र इच्छाशक्तिका कारण कयौँ क्षेत्रमा लोभलाग्दो फड्को मारिरहेको छ।
जब हामी सकारात्मक चस्मा लगाएर हेर्छौँ, तब मात्र हामीलाई देशमा भइरहेका उपलब्धिहरू देखिन थाल्छन्।
लविद्युतमा आत्मनिर्भरता:
एक दशक अघिसम्म नेपाल दैनिक १८ घण्टासम्मको कहालीलाग्दो लोडसेडिङमा थियो। ‘नेपालले कहिल्यै अन्धकारबाट मुक्ति पाउँदैन’ भन्ने नकारात्मक भाष्य चिर्दै, सकारात्मक सोच र सही व्यवस्थापनका कारण आज नेपाल न केवल लोडसेडिङमुक्त भएको छ, बरु छिमेकी देशहरूमा विद्युत निर्यात गर्ने ऐतिहासिक चरणमा पुगेको छ।
आधुनिक पूर्वाधारको आरम्भ:
कठिन भौगोलिक बनोटका कारण नेपालमा सडक सञ्जाल सधैँ चुनौतीपूर्ण रह्यो। तर आज नागढुङ्गा सुरुङमार्ग, सिद्धबाबा सुरुङमार्ग जस्ता सुरुङ युगको सुरुवात र द्रुतमार्गको निर्माणले नेपाल आधुनिक पूर्वाधारको नयाँ युगमा प्रवेश गरेको प्रमाणित गर्छ।
सूचना प्रविधिमा छलाङ:
नेपाली युवाहरूको नवप्रवर्तनात्मक सोचकै कारण आज नेपाल सूचना प्रविधिको क्षेत्रमा बलियो बन्दै गएको छ। नेपाली आईटी कम्पनी र फ्रिलान्सरहरूले विश्व बजारमा सफ्टवेयर निर्यात गरेर देशमा अर्बौँ रुपैयाँ बराबरको विदेशी मुद्रा भित्र्याइरहेका छन्। यी तमाम सकारात्मक परिवर्तनहरू त्यसै भएका होइनन्, यी त ‘हामी नेपालमै केही गर्न सक्छौँ’ भन्ने सकारात्मक सोच बोकेका इन्जिनियर, उद्यमी र नेपाली नागरिकहरूको आन्तरिक ऊर्जाका प्रतिफल हुन्।
वैदिक दर्शनदेखि आधुनिक विज्ञानसम्मको जग पूर्वीय वैदिक कालदेखि लिएर आजको आधुनिक वैज्ञानिक युगसम्म आइपुग्दा— स्वबोध, आत्मजागरण, आत्मअनुशासन र आत्मनिर्माण नै जीवन र जगत निर्माणको प्रमुख आधार भएको प्रमाणित भइसकेको छ। हाम्रै गौरवमय भूमि नेपाल (लुम्बिनी) मा जन्मनुभएका गौतम बुद्धले भन्नुभएको थियो- ‘हामी जे छौँ, हाम्रै विचारहरूको परिणाम हौँ।’
हाम्रा वेद र उपनिषद्ले हजारौँ वर्ष पहिले नै ‘यद् भावं तद् भवति’ (हाम्रो भाव वा सोच जस्तो हुन्छ, हामी त्यस्तै बन्दछौँ) भनी घोषणा गरेका थिए। आजको आधुनिक न्युरोसाइन्स (मस्तिष्क विज्ञान) ले पनि यस वैदिक सत्यलाई प्रयोगशालामा प्रमाणित गरिसकेको छ।
हार्भर युनिभर्सिटी (Harvard University) को अनुसन्धान अनुसार, केवल ८ हप्ताको सकारात्मक ध्यान र चेतनामूलक अभ्यासले मानिसको मस्तिष्कको ‘ग्रे म्याटर’ (सिकाइ र स्मरणशक्ति बढाउने भाग) लाई बाक्लो बनाउँछ र डर वा तनाव पैदा गर्ने ‘अमिग्डाला’ (Amygdala) लाई खुम्च्याइदिन्छ। अर्थात्, विज्ञान र अध्यात्म दुवैको निष्कर्ष एउटै छ- सफलता र सचेतनाको आधार नै सकारात्मक सोच हो।
निष्कर्ष:
आत्मनिर्माण र राष्ट्र निर्माणको सङ्कल्प विद्यार्थीको पढाइको उन्नतिदेखि वैज्ञानिकको अन्वेषणसम्मको शक्ति र ऊर्जाको स्रोत नै सकारात्मक सोच हो। वैज्ञानिक थमस एल्वा एडिसन बिजुलीको चिम आविष्कार गर्ने क्रममा १० हजार पटक असफल हुँदा पनि आफ्नो सकारात्मक सोचकै कारण सफल भए।
सन् १९०३ मा राइट दाजुभाइले ‘मानिस आकाशमा उड्न सक्छ’ भन्ने एउटै दृढ सकारात्मक सोचका कारण विश्वकै पहिलो मानव विमान उडाएर इतिहास रचे। भगवान् देखि दार्शनिकसम्म, विद्वान्देखि वैज्ञानिकसम्म, सबैको सफलताको जग यही सोच नै हो।
सोच केवल विचार मात्र होइन, यो त हाम्रो जीवन, समाज र सिंगो राष्ट्रको भविष्यको भाग्यविधाता हो। हामीले नकारात्मक सोच र ‘नेपालमा केही हुँदैन’ भन्ने आत्मघाती मानसिकताको जालोलाई च्यातेर बाहिर निस्कनैपर्छ। यदि हामी आफ्नो जीवन र यो देशलाई सुन्दर बनाउन चाहन्छौं भने, सुरुवात आफ्नै मस्तिष्क र विचारबाट गर्नुपर्छ।
अरूको आलोचना र गुनासो गर्न छोडेर आत्मसमीक्षा, उद्यमशीलता र कृतज्ञताको भाव विकास गर्नुपर्छ। हामीभित्र सम्भावनाको जुन गहिरो खानी छ, त्यसलाई उत्खनन गर्ने औजार नै सकारात्मक सोच हो। आजैदेखि स्वबोध, आत्मजागरण र आत्मअनुशासनको मार्ग अपनाएर आफ्नो सोचलाई सकारात्मक बनाउने सङ्कल्प गरौँ। जब हाम्रो व्यक्तिगत सोच बदलिनेछ, तब स्वतः हाम्रो राष्ट्र र यो सम्पूर्ण संसार बदलिनेछ। किनकि, सोच नै संसार हो!
गणेश जोशी चैतन्य पाठशाल सकारात्कता

