० गणेश गाउँले
म पढ्न चाहन्छु,
अक्षरहरू होइन,
आफ्नै मौनता भित्रका स्वरहरू।
सिक्न चाहन्छु,
सिद्धान्तको भारी होइन
आफ्नै मनोभावनाका तरंगहरु।
म नाप्न चाहन्छु
संसारभन्दा पहिले,
आफ्नो मुटुको गहिराइ
त्यहाँ के लुकेको छ भनेर।
पहिलो पाठः
आफैलाई चिन्ने,
पहिलो पाठशालाः
आफ्नै अन्तरआत्माको उज्यालो आँगन।
यात्रा गर्नै छ,
न कुनै नक्सा, न कुनै गन्तव्य।
तर प्रत्येक पाइलामा म छु
र म नै हराइरहेको छु।
साथीहरू छन् धेरै
तर साचो मित्र बन्नु छ
आफ्नै लागि,
जहाँ समबन्ध होस् निःस्वार्थ,
र प्रेरणा-आत्मदीपको ज्योती।
मेरो मन : एक ध्यानस्थ मंदिर,
जहाँ म एकै साथ
पुजारी पनि हुँ, पूजा पनि।
मेरो मस्तिष्क :
एक शून्यको बादल,
जहाँ विचारहरू वर्षन्छन्
र अन्तरघुलित हुन्छन शान्तिको सागरमा।
कहिले-काहीँ लाग्छ
दुनिया चिनिसकेको छु,
तर जब ऐनामा हेर्छु
लाग्छ आफ्नै आँखा अपरिचित
त्यसैले म अब यात्रा गर्दैछु
एक विद्यालयतिरः
जहाँ गुरु म हुँ,
र शिष्य पनि मै हुँ ।
त्यहीँ हुनेछ मेरो मिलन
मेरो साँचो ‘म’सँग
न त आकारमा,
न त नाममा
तर अस्तित्वकै अमृत भावमा।
जहाँ हृदयको स्पन्दनमा
शान्तिको फूल फुल्नेछ,
र आत्मा आफैँलाई
नमस्कार गर्नेछ।