



काठमाडाैं। स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयबाट १५ वैशाखमा प्रवाह गरेको ‘जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारवाही गर्न मन्त्री मेहताको निर्देशन’ सूचना झुठो ठहरिएको छ।
जेनजी आन्दोलनसँग जोडेर प्रवाह गरिएको उक्त सूचनाका आधारमा अक्षरपाटीले ‘जेनजी आन्दोलनमा जलेका गाडीको नाममा पनि इन्धन दुरुपयोग’ शिर्षकमा समाचार सम्प्रेषण गरेको थियो।
मन्त्री मेहताको सचिवालयका सदस्य निरज कटुवालले वैशाख १५ गते विहान करिब १० बजेर २५ मिनेटमा ह्वाट्सएप ग्रुपमा प्रवाह गरेको सूचनामा ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएको कुरा समेत उल्लेख थियो।

सोही आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन समिति गठन गरेको थियो। सो समितिले एक साता लगाएर छानबिन गरेपछि मन्त्रीकै सचिवालयबाट प्रवाहित भएको सूचना झुटो भएको निष्कर्ष निकालेको हो।
समितिले जलेका सवारीसाधनका नाममा इन्धन निकासा भएको भन्ने दाबी गलत प्रमाणित गरेको निस्कर्ष निकालेको छ।
मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीकाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार जलेका सवारीसाधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धन निकासासम्बन्धी अभिलेख (अर्धकट्टी), भुक्तानी विवरण लगायत कागजातहरूको अध्ययन र विश्लेषणपछि यस्तो निष्कर्ष निकालिएको हो।

यस विषयमा मन्त्रीकाे सचिवालयले कुनै प्रतिक्रिया नदिए पनि अधिकारीद्वारा जारी विज्ञप्तिमा ‘जलेका सवारी साधनका नाममा इन्धन दुरुपयोग नभएको निष्कर्ष समितिले निकालेको छ’ भनिएको छ। मन्त्रीको सचिवालय माैन भए पनि यसको दोष भने सञ्चारमाध्यमलाईतिर थाेपर्न खोजिएको छ।
डा.अधिकारीले जारी गरेको वक्तव्यमा अपुष्ट र भ्रम फैलाउने सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ। त्याे मात्र होइन प्रेस काउन्सिलले पनि यस विषयमा चासो राख्दै समाचार सच्याउन संचार माध्यमलाई पत्र पठाएको छ।
सूचना स्वास्थ्य मन्त्री



