Logo
२१ भदौ २०८२, शनिबार

नाकमुनीको दुर्गन्ध थाहा नपाए झैं गर्नेहरु सत्तामा पुगेपछि…

अक्षरपाटी
२०८२ भदौ २१ , शनिबार ०३:०९ मा प्रकाशित

गृहमन्त्रीको गृहजिल्ला नै मानव बेचविखनको उच्च जोखिममा

काठमाडौं। माइती नेपाल कञ्चनपुरले मानव बेचबिखनका दृष्टिले कञ्चनपुर जिल्ला उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरेकाे छ।

कञ्चनपुर यतिबेला दुईतिहाइ सरकारको गृहप्रशासन सम्मालिरहेका गृहमन्त्री रमेश लेखकको गृहजिल्ला हो।

तर यही जिल्ला देशभरमै मानव बेचबिखन र ओसारपसारका दृष्टिले सबैभन्दा जोखिममा रहेकाे पाइएको माइती नेपाल कञ्चनपुरकाे अनुभवले देखाएको छ।

कञ्चनपुरको मुख्य तथा वैधानिक नाका गड्डाचौकी मात्र नभएर यस जिल्लामा भारतसँग जोडिएका अवैध नाकाहरु तमाम छन्।

तिनै मुख्य नाका मात्र नभएर तिनै अवैध नाकाहरु मानव बेचबिखन तथा ओसारपसारको हब बन्दै गएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टको भनाइ छ।

उसो त कैलाली जिल्लामा समेत गौरीफन्टा नाका बाहेक तमामौँ अवैध नाका छन्। तर देशका विभिन्न जिल्लाबाट मानव बेचबिखन र ओसारपसारको अवैध धन्दा गर्नेहरुले कञ्चनपुरको बाटो अपनाउने गरेको पाइएको संयोजक भट्टको भनाइ छ।

जिल्लामा खुला सिमाना हुनु, अझै पनि तीं नाकामा राज्यले प्रविधिमैत्री निगरानीको व्यवस्था नगर्नु, स्रोतसाधन र जनशक्तिकै अभाव हुनुजस्ता कारणले कञ्चनपुर मानव बेचबिखन र ओसारपसार गर्नेहरुका लागि सहज बाटो बनेको माइती नेपालको ठम्याइ छ।

मानव तस्कर र दलालहरुले गृहमन्त्रीकै गृहजिल्लाका नाका प्रयोग गरी बालबालिका, किशोरी, महिला र श्रमिकको नाममा भारत, खाडीमुलुक र अन्य देशसम्म पुर्याउने गरेको पाइएको माइती नेपाल कञ्चनपुरको अनुभवले देखाएको छ।

मुलुकमा संघीय लोकतान्त्रिक व्यवस्था लागु भएको डेढ दशक हुँदा पनि अशिक्षा, बेरोजगारी, गरिबी, सामाजिक कुरिती, घरेलु हिंसामा कमी नहुनुले पनि यसको फाइदा मानव तस्करहरुले उठाइरहेको सरोकारवालाहरु बताउँछन्।

आफू र आफन्तजन बेचबिखन वा ओसारपसारमा परे पनि न्याय पाउने कुरामा भरोसा नहुँदा र न्यायमा हुने ढिलाइका कारण पनि उजुरी समेत दिन डराउने कारण पनि यस्ता घटना बढ्दै गएको पाइएको सरोकारवालाको अनुभव छ।

उसो त कञ्चनपुर, कैलालीलगायतका सीमा क्षेत्रमा बढ्दै गएको लागु औषधको विस्तार र कारोबारले पनि मानव बेचबिखन र ओसारपसारलाई थप टेवा दिएको धनगढी उपमहानगरपालिका १२ का वडाध्यक्ष शेरबहादुर महराले बताए।

‘मेरो वडा सीमानसँग सबैभन्दा बढी निकट भएर जोडिएको छ। सीमा क्षेत्रको समस्या भनेकै लागुऔषध हो। यसले हुने नहुने अनेकन अपराधका घटना बढ्दै गएका छन्’, उनले भने, ‘जनप्रतिनिधि एक्कैले गरेर यसको रोकथाप सम्भव छैन, अभिभावक, सरोकारवाला र सरकारले नै विशेष पोलिसी नल्याएसम्म अवस्था भयावह हुने देख्छु।’

लागुऔषधको लत र लोभमा पनि मानव बेचबिखन र ओसारपसारले प्रश्रय पाउने खतरा बढेको उनले बताए।

विदेशमा आकर्षक रोजगार, राम्रो परिवारसँग विवाह, भ्रमणको प्रलोभन मात्र होइन विभिन्न सञ्जालका माध्यमबाट समेत यस्ता घटना बढिरहेको उनको भनाइ छ।

मानव बेचबिखनको शैली पनि समयक्रमसँगै फेरिँदै गएको माइती नेपाल कञ्चनपुर संयोजक भट्टको अनुभव छ। विदेशमा आकर्षक रोजगार, राम्रो परिवारसँग विवाह, भ्रमणको प्रलोभन मात्र होइन विभिन्न सञ्जालका माध्यमबाट समेत यस्ता घटना बढिरहेको उनको भनाइ छ।

अहिले यस्ता घटनामा अन्तर्राष्ट्रिय अपराध सञ्जाल नै सक्रिय हुँदैगएको पाइएको सरोकारवाला बताउँछन्।

यसरी ओसारपसारमा पर्नेहरुलाई बालश्रममा लगाइने, यौन शोषण गरिने, घरेलु कामदारदेखि अंग बेचबिखनमा पर्ने गरेको पाइएको माइती नेपालको अध्ययनले देखाएको छ।

माइती नेपाल कञ्चनपुरका अनुसार २०२४ जुलाई १६ देखि २०२५ जुलाई १५ सम्मको आँकडा हेर्ने हो भने ओसारपसार र बेचबिखनका लागि भारत लगिन लागेका २८६ जनाको रोकथाम गरिएको छ।

तीँमध्ये १३६ जना कञ्चनपुर जिल्लाका मात्रै छन्। रोकथाम गरिएकामा २९ जना बालबालिका र १५७ महिला र बाँकी पुरुष थिए। उनीहरुमध्ये १२७ जना मुख्य नाका गड्डाचौकीबाट, ४८ जना चारलेन पुल र ३८ जना झोलुङ्गे पुलमा रोकथाम गरिएको थियो। २८६ मध्ये २४८ त सुदूरपश्चिमका भएको माइती नेपालले जनाएको छ।

सरकारले सडक विस्ता, पुल निर्माण, तटबन्धन र संरचना बनाउनुलाई मात्र विकास ठान्ने सोचको शिकार समाज बन्दै गएको विश्लेषक सिताराम भट्ट बताउँछन्।

‘जनताको लागि राजनीति गर्छु भन्नेहरु नै जनताको दुरावस्थाबारे बेखबर भए’, विश्लेषाक भट्टले भने, ‘विकास भनेको समग्र समाज, सँस्कार, चेतना र जीवनस्तरमा सकारात्मक परिवर्तनलाई भनिनुपर्ने हो। तर आफ्नै नाकमुनीको दुर्गन्ध थाहा नपाएझैं गर्नेहरु सत्तामा पुगेपछि गुनासो कोसँग गर्नु ?’

सीमामा प्रविधिमा आधारित निगरानी, दुईदेशबीच समन्वय र सहकार्य, विद्यालयस्तरमा सचेतना, अभिभावकसँग साझेदारी र टोलटोलमा सचेत समूहको सक्रियता लागुऔषध नियन्त्रण, मानव बेचबिखन र ओसारपसार न्युनिकरणको आवश्यकता भएको जानकारहरु बताउँछन्।

त्योसँगै यस्ता जघन्य अपराधको शिकार भएकाहरु र उनीहरुका आफन्तलाई फास्ट ट्रयाकबाट न्याय दिन नसक्ने हो भने यस्ता घटनामा नियन्त्रणमा ठूलो उपलब्धि हुन कठिन हुने विज्ञहरुको बुझाइ छ।

फाइल तस्बिर

कञ्चनपुर मानव बेचबिखन