धनगढी। सुदूरपश्चिमको ‘प्रज्ञा प्रतिष्ठान’ सरह नाम र सम्मान कमाएको सुदूरपश्चिम साहित्य समाजको जिम्मेवारी पुनः साहित्यकार रामलाल जोशीले सम्महालेका छन्।
कुनै स्रोत, साधन र हेर्नलायक कार्यालय समेत नरहेको अवस्थामा विगतमा एक दशक नेतृत्वमा रहँदा जोशीको नेतृत्वमा साहित्य समाजको आफ्नै तीन तले भनव मात्रै निर्माण भएन, सुदूरपश्चिमको कला, साहित्य र संस्कृतिको देश र विदेशमा समेत प्रवद्र्धन गरिएको थियो।
एक कार्याकाल नेतृत्व बाहिर रहे पनि पुनः जोशीले नै नेतृत्व लिनुपर्ने माग बलियो बनेपछि ऐना कथा संग्रहका लागि २०७२ को मदन पुरस्कार विजेता जोशीले पुनः साहित्य समाजको नेतृत्व सम्हालेका हुन्।
विगतमा साहित्य समाजको नेतृत्वमा रहँदा जोशीकै अगुवाइमा देश दर्शन अभियान, विभिन्न साहित्य महोत्सव, विश्व नेपाली साहित्य महोत्सवजस्ता ऐतिहासिक र स्मरणीय कार्यक्रमहरु सम्पन्न भएका थिए।
समाजका गतिविधि र जोशी स्वयंका कृतिमार्फत समेत नेपाली साहित्यको ध्यान सुदूरपश्चिमतर्फ केन्द्रित गराउन सफल लेखक रामलाल जोशीले बीचमा नेतृत्व छोडेपछि सुदूरपश्चिम साहित्य समाज सुस्त र गतिहीनजस्तै बनेको थियो।
आज सम्पन्न साधारण सभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ जनक रसिकदेखि समाजसेवी मदन कुँवर, लक्ष्मण कुँवर, वरिष्ठ साहित्यकार श्रेष्ठप्रिया पत्थर , समाजका पूर्वअध्यक्षहरू र स्वयं अध्यक्षका आकांक्षी टोपेन्द्र शाहसमेतले फेरि एकपटक रामलाल जोशीलाई अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए।
आफ्नो जीवनको उर्वर समय साहित्य समाजको निर्माणमा विताएको स्मरण गर्दै जोशीले संकटको बेला फेरि नेतृत्व सम्हाल्न राजी भएको भन्दै सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
आज सम्पन्न समाजको एघारौं साधारण सभामा सम्पूर्ण सभासदको माग अनुसार आफूले नेतृत्व स्वीकारेको र साहित्य समाजलाई संकटबाट माथि उठाउने मात्र होइन यस क्षेत्रकै प्रज्ञा प्रतिष्ठानका रुपमा स्थापित गरेर देखाउने प्रतिवद्धता जोशीले व्यक्त गरे।
रामलाल जाेशी सुदूरपश्चिम साहित्य समाज