



काठमाडौं। सुशासन, भ्रष्टाचार नियन्त्रणलगायत सवाल उठाएर भदौ २३ हा जेनजी आन्दोलन भयो।
तत्कालीन सरकारको चरम दमनपछि आक्रोसित पक्षले भदौ २४ मा देशभर आगजनी र तोडफोड गर्यो।
देशभर असामान्य परिस्थितिपछि गठन भएको वर्तमान सरकारले जेनजीका सवाल सम्बोधन गर्न नसकेको भन्दै पुनः जेनजी समूहले सोमबारदेखि देशव्यापी ‘संयुक्त जेनजी आन्दोलन’ गर्ने भएको छ।
मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलिदेखि देशव्यापी रुपमा गर्ने आन्दोलनमा ३० भन्दा बढी जेनजी समूह सहभागि हुने भएका छन।
आज पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता, घाइते तथा सहीद परिवारलाई समेटेर लैजाने योजनासहित सोमबार संयुक्त जेनजी आन्दोलन गर्ने घोषणा गरेको हो।
जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिए। उनका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। ‘आन्दोलन शान्तिपूर्ण तरिकाले हुन्छ। सुक्षाको जिम्मा सरकारले लिनुपर्छ,’ उनले भने।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उनले सरकारको विकल्प आवश्यक रहेको बताए।
सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको उनले जानकारी दिए। त्यसका लागि सबै जेनजी समूह एकतावद्ध भइसकेको उनको भनाइ छ।
जेनजी आन्दोलनको विषयलाई लिएर सञ्चारमन्त्री जगदीश खरेलले यसलाई स्वभाविक रुपमा लिनुपर्ने प्रतिक्रिया दिए। उनले सार्वजनिक अभिव्यक्ति दिँदै, ‘यो सरकार जेनजी आन्दोलनको बलमा बनेको र उनीहरुको माग सरकारले ग्रहणसमेत गरिसकेका बेला शान्तिपूर्ण खबरदारी जायज भएको’ प्रतिक्रिया दिएका हुन्।
मिराज ढुंगाना



