
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकटका ‘सात भाइ’ पार्टीको १५ औँ महाधिवेशनका लागि तोकिएको कार्यतालिका नै परिवर्तन गरेर आसन्न निर्वाचन पछि महाधिवेशन गर्ने ‘मुड’मा छन्।
यही बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने विशेष महाधिवेशका लागि हल नै बुकिङ गरेका छन्।
गगन थापा निकट मानिने कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले मिडियलाई दिएको जानकारी अनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दै असोज २९ गते बुझाएको हस्ताक्षर अनुसार तयारी थालिएको हो।
उनका अनुसार थापा र शर्माले विशेष महाधिवेशन गर्न भन्दै हल बुकिङ गराएका हुन्।
पुस २७ र २८ गतेका लागि विशेष महाधिवेशन गर्ने उद्देश्यले भृकुटीमण्डपको हल बुकिङ गरिएको गौतमले जानकारी दिइन्।
नियमित महाधिवेशनको सम्भावना टरेकाले पार्टी स्वतः विशेष महाधिवेशनतिर अघि बढेको महामन्त्रीपक्षधरको भनाइ छ।
केन्द्रीय समितिले ल्याएको १५ औं महाधिवेशन कार्यतालिकाअनुसार हिजो वडा र आज पालिका अधिवेशन गरिने भने पनि हुन सकेको छैन।
कांग्रेसको विधान अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र बोलाउनुपर्ने बाध्यकारी व्यवस्थाअनुसार महामन्त्रीद्वय अघि बढेको बताइएको छ।
गगन थापा विशेष महाधिवेशन विश्वप्रकाश शर्मा


