Logo
१७ कात्तिक २०८३, मंगलबार

लुम्बिनी कोषको सदस्य सचिवमा सन्तोष पाण्डे नियुक्त

अक्षरपाटी
२०८३ कात्तिक १७ , मंगलबार ०६:११ मा प्रकाशित

काठमाडौं । नेपाल सरकारले युवा इन्जिनियर सन्तोष पाण्डेलाई लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त गरेको छ।

सरकारले लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन्।

उनले सहरी पूर्वाधार, भवन निर्माणको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनका क्षेत्रमा काम गर्दै आएका छन्।

पाण्डेले काठमाडौं महानगरपालिकामा सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए।

महानगरपालिकामा रहँदा उनले भवन निर्माणको संरचनागत सुरक्षा, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड पालना गराउन काम गरेका थिए।

त्यसअघि उनले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सन् २०२० देखि २०२२ सम्म संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए।

उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए।

उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा योगदान दिएका थिए।

निजी क्षेत्रतर्फ उनले भिजनरी डिजाइन प्रालिमा काम गरेका उनले विभिन्न स्थानमा ‘पैदलयात्री पुल’को संरचनागत डिजाइन तथा विस्तृत प्राविधिक अध्ययन गरेको अनुभव बटुलेका छन्।

पाण्डेले काठमाडौंस्थित एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सन् २०११ मा सिभिल इन्जिनियरिङमा स्नातक गरे।

त्यसपछि भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट सन् २०१६ मा स्ट्रक्चरल इन्जिनियरिङमा एमटेक गरे।

उनले नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा समेत योगदान दिएका छन्।

सन् २०२४ मा स्ट्रक्चरल इन्जिनियर्स एसोसिएसन नेपालले भवन संहिताको समीक्षा समितिमा सक्रिय योगदान गरेका थिए।

विशेषगरी लुम्बिनी क्षेत्रका भौतिक संरचनाको संरक्षण, निर्माणाधीन आयोजनाको गुणस्तर अनुगमन, विकास निर्माणमा प्राविधिक मापदण्डको पालना तथा सम्पदामैत्री पूर्वाधार विकासमा उनको अनुभव उपयोगी हुन सक्ने देखिन्छ ।

लुम्बिनी विकास कोष

ट्रेन्डिङ ( साप्ताहिक )