Logo
२३ पुस २०८२, बुधबार

रेशम चौधरीलाई दिइएको आममाफीविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ

अक्षरपाटी
२०८२ पुस २१ , सोमबार १२:०१ मा प्रकाशित

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

उक्त रिटमाथि सुनुवाइका लागि न्यायाधीश डा. मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको छ।

गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी दिएका थिए। सोही निर्णयअनुसार चौधरी १५ जेठ २०८० मा जेलमुक्त भएका थिए।

तर, टीकापुर घटनामा मारिएका प्रहरी इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीलाई दिइएको आममाफी असंवैधानिक भएको दाबी गर्दै जेठ १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।

यसअघि जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो। त्यसपछि पटक–पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थरुहट–थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित सात सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। सोही घटनामा संलग्न भएको आरोपमा चौधरीलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

उक्त मुद्दामा जिल्ला, उच्च र सर्वोच्च अदालत तीनै तहबाट चौधरी दोषी ठहर भइसकेका छन्।