Logo
२० माघ २०८२, मंगलबार

सेती अस्पताल : मृत्युको याचना

अक्षरपाटी
२०८२ माघ १९ , सोमबार ११:०२ मा प्रकाशित

० हिक्मत रावल

सेती अस्पतालको चिसो बेडमा
एउटा बिरामी
मृत्युसँग बार्गेनिङ गर्दै
‘किड्नी डायालिसिस’को पालो पर्खिरहेको छ
मृत्यु भन्छ-
‘भैगो, अब तिम्रो पालो आउँदैन’
एकछिनमा वार्डबाट डाक्टर निस्कन्छ,
नहेरी जान्छ
बिरामी रोक्छ:
डाक्टर साब, एक निमेश रुक्नुस् त,
यदि पालो आउँदैन भने,
यदि उपचार मिल्दैन भने,
मर्ने औषधि छ बरु दिनुस्,
नत्र इन्जेक्सन घोचिदिनुस् !
यहाँ यसरी बाँच्नु भन्दा
मर्नु बेस छ!

तर,
भीष्म पितामहजस्तो
इच्छामृत्यु पनि छैन यहाँ !
डाक्टर साब,
यहाँ मर्छु भन्दा पनि
मारिदिने किन कोही छैन ?

म मर्दैछु भन्ने चिन्ता त छँदैछ,
तर
सेती अस्पताल किन यसरी मरेको छ
त्यो चिन्ता अझै ठूलो छ!

उता निर्वाचनको माहोल तातेको छ,
यता सेती अस्पतालमा
उपचार नपाएर
बिरामीहरू चिसिँदैछन्
उम्मेदवार घरदैलोमा भन्छन्स्
‘हामी सेती अस्पताल बनाउँछौं’
‘हामी गेटा विश्वविद्यालय बनाउँछौं’
हामी सुकुम्बासीका बास ठड्याउँछाैँ
हामी गाउँगाउँमा स्वास्थ्य पुर्याउँछाैँ !

पहिले पनि यस्तै भनेका थिए,
चुनाव आए, गए
नेताले वाचा गरे, हराए
यसबीच
धेरै बिरामी मरे,
अस्पतालमा
मृत्युको छटपटी र चिच्याहट मात्र सुनियो !

यता माइकिङको रन्को छ,
उता वार्डमा सासको हिसाब छैन
फेरि तिनै दल,
तिनै पुराना अनुहारहरू
घर–घर पुगेका छन्-
‘भोट दिनुस्, अस्पताल बनाउँछौं भन्दै छन्’

अब कसरी पत्याउने ?
यिनले अस्पताल बनाउलान भनेर !
गेटा मेडिकल कलेज
चुनाव जित्ने
हुकुमको कार्ड बन्यो
मेडिकल कलेज बनेन,
तर हुकुम त उनीहरुकै रह्यो।

उनीहरूको अवस्था बदलियो,
अस्पतालको अवस्था बदलिएन !
अहिले फेरि
‘देश बदल्छौं’ भन्न आएका छन्।

कसरी पत्याउने ?
डाक्टर साब,
गरिब हुनुको सजाय
धेरै पाइयो,
अब भोट बदल्न मन छ-
म मरेँ भने पनि
मिल्छ भने
मेरो नामको भोट
फेरि अर्को गरिब
नमार्ने गरी
दृढ अठोट बोकेको
छ कोही भने जिताइदिनु उसलाई !

(कवि बीबीसी संवाददाता हुन्)

कविता सेती अस्पताल हिक्मत रावल
यो पनि हेर्नुहोस् : मेरो यौवन मलाई अति प्रिय छ