

जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जुम्ला जिल्ला उपसभापति तारा शाही पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेकी छिन्।
रास्वपाले लिएको राजनीतिक दिशाप्रति असन्तुष्टि जनाउँदै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन्।
रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको भन्दै उनले अस्पष्ट राजनीतिक यात्रा गन्तब्य विहीन हुने भन्दै पुनः आफ्नै पुरानो घर फर्किएको बताइन्।
उनी कांग्रेसमा फर्किएसँगै जुम्लाको चुनावी अंक गणितमा कांग्रेसलाई बल पुग्ने भएको छ ।
कांग्रेसकी केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन्। खड्काका अनुसार शाहीको पुनः आगमनले कांग्रेसको संगठनात्मक सशक्तीकरणमा सकारात्मक सन्देश गएको छ।
कांग्रेस जुम्लाका उपसभापति कार्मा बुढाले कांग्रेसको संगठनात्मक संरचना, निर्णय प्रक्रिया र राजनीतिक निरन्तरताले शाहीलाई पुनः आकर्षित गरेको बताए।
जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी शाही स्थानीय राजनीतिमा प्रभाव राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन। यसअघि वैकल्पिक राजनीतिको नारासहित रास्वपामा प्रवेश गरेकी उनको प्रभावकै कारण केही समयमै जिल्ला उपसभापति भएकी थिइन्।
निष्ठाको राजनीति गर्ने शाही रास्वपाको दिशाहीन यात्रामा सँगै हुन नसक्ने निचोडसहित सो दल छाड्ने निष्कर्षमा पुगेकी हुन्।
तारा शाही नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी




