काठमाडौं ४ मंसिर। विश्व फुटबलको महाकुम्भ आजबाट कतारमा सुरु हुरु हुँदैछ । विभिन्न विवाद र आलोचनाबीच कतार विश्वकप २०२२ आजबाट सुरु हुन लागेको हो ।
समलिङ्गी सम्बन्ध, मानवअधिकारको रेकर्ड र आप्रवासी कामदारमाथिको व्यवहारका कारण कतार विश्वकपको निकै आलोचना भयो ।
मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना हुन लागेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका शीर्ष दुई टोली नकाउट चरणमा प्रवेश गर्ने छन् ।
२८ दिनसम्म चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन् । विश्वकपका खेल आयोजनाका लागि कतार आठ रंगशालामा तयार पारेको छ ।
६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ । उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन् ।
उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
समूह चरणको पहिलो खेल खेल्दा कतारमाथि दबाब हुनेछ । विश्वकपको २२ औं संस्करण आइपुग्दा हालसम्म कुनै पनि आयोजक टोलीले विश्वकपमा आफ्नो पहिलो खेलमा हार बेहोरेको छैन ।
सन् १९७० मा मेक्सिको बाहेक हरेक टोलीले पहिलो खेलमा गोल गरेको इतिहास पनि छ । यस्तै विश्वकप आयोजकले समूह चरण पार गर्ने इतिहास पनि कतारलाई कायम राख्नुछ ।
सन् २०१० मा दक्षिण अफ्रिकाबाहेक सबै आयोजक राष्ट्रले नकआउट चरणमा प्रवेश गरेका छन् । कतार घरेलु समर्थकमाझ पहिलो सहभागितामै नकआउट चरण खेल्ने लक्ष्यसाथ अल बायत रंगशालामा उत्रनेछ ।
इक्वेडर र कतारबीच हालसम्म ३ खेल भएका छन् । दुई टोलीबीच समान १ जित, बराबरी र हारको नतिजा रहेको छ ।
प्रतियोगी विभिन्न समूहहरू यस प्रकार छन् :
समूह ए: कतार (एच), इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
समूह बी: इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
समूह सी: अर्जेन्टिना, साउदी अरब, मेक्सिको, पोल्याण्ड
समूह डी : फ्रान्स, अस्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह ई: स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह एफ: बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया
समूह जी: ब्राजिल, सर्बिया, स्विजरल्याण्ड, क्यामरुन
समूह एच : पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
fifa worldcup 2022 qatar worldcup 2022