Logo
७ वैशाख २०८३, सोमबार

युवाको साथ र पाकाहरूको भरोसाले चुनाव जित्छु : एमाले उम्मेदवार धामी

अक्षरपाटी
२०८२ फागुन २ , शनिबार १०:०२ मा प्रकाशित

धनगढी । डोटीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी निकै बढेको छ । एउटा मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको डोटीमा यसपटक ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी मैदानमा छन्।

डोटीमा यसपटक पुराना अनुहारको पलायन र नयाँ युवा अनुहार चुनावी मैदानमा उत्रिनुले सर्बत्र चासोको विषय बनेको छ। नेकपा एमालेले भने डोटीमा युवा नेता दीपक धामीलाई यसकपटक चुनावी मैदानमा उतारेको छ।

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीलाई पार्टीले उम्मेदवार बनाएपछि यहाँको चुनावी माहोल झन तताएको छ।

३२ वर्षको उमेर हदको बहसमा खरो उत्रिएका धामी अन्य उम्मेदवारको तुलनामा कान्छो र जोसिलो उम्मेदवारका रूपमा डोटीमा चर्चामा छन्।

अनेरास्ववियुको महासचिव हुँदै अध्यक्ष बनेपछि संसदीय निर्वाचनको टिकट पाएका धामी आफूलाई युवाहरूको प्रतिनिधि र पाकाहरूको भरोसाले चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन्।

कच्ची सडक, गुणस्तरीय शिक्षाको अभाव र स्वास्थ्य उपचारका लागि स्टेचरमा बोकिनुपर्ने डोटीको बाध्यता अन्त्य गर्नु आफ्नो प्राथमिकता रहेको धामीले बताए।

उनले अहिले निर्वाचन प्रचारप्रसारको अभियान अन्तर्गत मतदातासँग भोट माग्न व्यस्त रहेको बताए।

उनले भने, ‘म, मेरो उमेर, समय र सीप डोटेली जनताको जीवन बदल्न खर्चिने छु।’

धामी शिखर नगरपालिकाबाट विद्यार्थी राजनीति सुरु गरेर केन्द्रमा स्थापित भएका युवा नेतामा पर्छन।

यो पालीको निर्वाचनमा एमाले उम्मेदवार धामीलाई विजयी गराउन एमाले डोटीका नेता तथा कार्यकर्ता एक ढिक्का भएर चुनाव प्रचार प्रसार अभियानमा लागेको पार्टी सचिव पदमराज भट्टले बताए।

डोटीमा यसपटक नेपाली कांग्रेसले पूराना नेता भरतबहादुर खड्कालाई आफ्नो उम्मेदवारका रूपमा अघि सारेको छ। उनले डोटीबाट पटक-पटक अवसर प्राप्त गरी परिक्षण भइसकेका व्यक्ती हुन्।

चुनावी मैदानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्टलाई प्रतिष्पर्धामा उतारेको छ।

भट्ट मुख्यमन्त्री हुँदा प्रदेश राजधानी गोदावरी तोकेको विषयलाई लिएर उनीमाथि जिल्लामा आरोप लाग्ने गरेको छ।

डोटीमा २०७९ सालको समानुपातिक मत परिणामको तथ्याङ्कले कांग्रेस र नेकपा एमालेबीचको मतान्तर झण्डै बराबरी छ।

२०७९ मा कांग्रेसले समानुपातिकतर्फ २२ हजार ५१६ मत ल्याउँदा एमाले २२ हजार ४५६ मत छ। यी दुई दलबीच मात्र ६० मतको अन्तर रहनुले यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिन्छ।

उक्त निर्वाचनमा माओवादी केन्द्रले ६ हजार ९ सय २४ र एकीकृत समाजवादीले २ हजार ३ सय ७३ मत समानुपातिकमा पाएका थिए।

दीपक धामी नेकपा एमाले