



काठमाडौँ। महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर क्षेत्रमा सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मकवानपुर स्थायी घर भई हाल काठमाडौँको चागल बस्दै आएका २५ वर्षीय रिजन श्रेष्ठलाई बुधबार नियन्त्रणमा लिइएको हो।
परिसरका प्रवक्ता पवनकुमार भट्टराईले घटनामा संलग्न युवक पक्राउ परेको पुष्टि गरे। उनका अनुसार शिवरात्रिको दिन प्रहरीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि ती युवकको खोजी तीव्र पारिएको थियो।
प्रहरीले मंगलबार भाइरल भिडियोको ‘स्क्रिनशट’ सार्वजनिक गर्दै पहिचानका लागि सर्वसाधारणसँग सहयोग मागेको थियो। प्राप्त सूचनाका आधारमा श्रेष्ठलाई चागल क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि ठेगाना र पहिचान नखुल्दा अनुसन्धानमा केही ढिलाइ भएको बताइएको थियो। पक्राउ परेका श्रेष्ठमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ।
प्रहरी



