Logo
१९ वैशाख २०८३, शनिबार

सुदूरपश्चिममा तीन हजार ८ सय बढी एचआईभी संक्रमित एआरटी उपचारमा

अक्षरपाटी
२०८२ चैत्र ११ , बुधबार १०:०३ मा प्रकाशित

धनगढी – सुदूरपश्चिम प्रदेशमा हाल ३ हजार ८१२ जना एचआईभी संक्रमितहरू एआरटी (Antiretroviral Therapy) उपचारमा रहेको तथ्य सार्वजनिक गरिएको छ। स्वास्थ्य निर्देशनालय, डोटीको आयोजनामा तथा एड्स हेल्थ केयर फाउण्डेशन (ए.एच.एफ) नेपालको सहयोगमा सोमबार धनगढीमा आयोजित एचआईभी सम्बन्धी मिडिया अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो।

कार्यक्रममा एएचएफका कार्यक्रम संयोजक माधव पन्त ले प्रदेशगत विवरण प्रस्तुत गर्दै कैलाली जिल्लामा सबैभन्दा बढी १ हजार ८०२ जना संक्रमित एआरटी उपचारमा रहेको बताए। उनका अनुसार अछाममा ५६६, डोटीमा ४९१, कञ्चनपुरमा ४७३, डडेल्धुरामा १२३, बैतडीमा १०३, बझाङमा ९७, बाजुरामा ७२ र दार्चुलामा ५१ जना संक्रमित उपचारमा रहेका छन्। स्वास्थ्य निर्देशनालय डोटीका एचआईभी फोकल पर्सन मनोज ओझा का अनुसार पछिल्लो समय वार्षिक रूपमा नयाँ संक्रमणका केसहरू घट्दै गएका छन्। उनले संक्रमितमध्ये करिब ९४ प्रतिशत व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भइसकेको जानकारी पनि दिए।

कार्यक्रमको मुख्य उद्देश्य राष्ट्रिय तथा प्रदेश स्तरमा एचआईभीको वर्तमान अवस्था, जोखिम समूह, उपलब्ध सेवा र विद्यमान चुनौतीबारे सञ्चारमाध्यमलाई जानकारी गराउँदै जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा बोल्दै संयोजक पन्तले नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान भएको उल्लेख गर्दै हाल पनि प्रारम्भिक परीक्षण, उपचारको निरन्तरता र क्षयरोगसँगको सह–संक्रमण नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। उनले सुदूरपश्चिम प्रदेशलाई उच्च प्रभावित क्षेत्रका रूपमा चिनाउँदै भारततर्फ हुने वैदेशिक रोजगारी (माइग्रेशन) का कारण संक्रमणको जोखिम उच्च रहेको बताए।

उनका अनुसार प्रमुख जोखिम समूहमा भारत जाने श्रमिक, उनीहरूका जीवनसाथी, महिला यौनकर्मी, लागुऔषध प्रयोगकर्ता, समलिंगी पुरुष तथा तेस्रो लिंगी समुदाय पर्दछन्। प्रदेशमा हाल १९ वटा एचआईभी परीक्षण तथा परामर्श केन्द्र, १९ वटा एआरटी सेवा केन्द्र र ३ वटा भाइरल लोड परीक्षण केन्द्र सञ्चालनमा रहेका छन्। साथै, क्षयरोग र एचआईभीको एकीकृत सेवा पनि उपलब्ध रहेको जानकारी दिइएको छ।

एड्स हेल्थ केयर फाउण्डेशन (ए.एच.एफ) ले नेपालमा एचआईभी रोकथाम, परीक्षण, उपचार तथा हेरचाहका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। विश्वका करिब ५० देशमा कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले नेपालमा १९ वटा एआरटी केन्द्र तथा २ वटा सीमा नाकामा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको छ। सुदूरपश्चिम प्रदेशमा भने ४ वटा एआरटी केन्द्रमार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको छ। साथै, समुदायस्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम, परीक्षण सेवाको विस्तार तथा गुणस्तरीय औषधि र उपचार सेवामा पहुँच सुनिश्चित गर्न संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।

कार्यक्रममा सहभागी मिडियाकर्मीहरूले एचआईभी रोकथाम, परीक्षण सेवाको विस्तार, उपचारमा पहुँच तथा समाजमा विद्यमान कलंक र भेदभाव न्यूनीकरणका विषयमा जिज्ञासा राखेका थिए। वक्ताहरूले सही सूचना प्रवाह, जनचेतना विस्तार तथा एचआईभीसम्बन्धी मिथकहरू हटाउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। कार्यक्रमको अध्यक्षता सामाजिक विकास मन्त्रालयका नीति, कानुन, मापदण्ड, योजना तथा जनस्वास्थ्य महाशाखा प्रमुख रमेश मलासी ले गरेका थिए। स्वागत मन्तव्य स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर ले व्यक्त गरेका थिए भने स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक नरेन्द्र सिंह कार्की प्रमुख अतिथिको रूपमा उपस्थित रहेका थिए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष, प्रदेश स्वास्थ्य प्रवर्द्धन केन्द्रका प्रमुख तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

एचआईभी संक्रमित