



धनगढी– बुद्ध जयन्तीको अवसरमा चैतन्य पाठशालाद्वारा आयोजित “विश्व शान्तिका लागि चैतन्य साइकल यात्रा २०८३” सम्पन्न भएको छ ।
शान्ति, सद्भाव र सहिष्णुताको सन्देश समाजमा फैलाउने उद्देश्यले आयोजना गरिएको उक्त साइकल यात्राले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने आयोजकको विश्वास रहेको छ ।
आज बिहान ६ः०० बजे धनगढीको चौराहाबाट सुरु भएको यात्रामा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

यात्रा धनगढी चौराहाबाट दिप प्रज्वलन गर्दै सुरु भई बुद्ध चोकमा बुद्धका उपदेश र बुद्धको शालिकमा फूलमाला अर्पर्ण गर्दै फूलवारीमा स्थानिय तथा समाजसेवीको अग्रतामा दिप प्रज्वलन गर्दै पाठशालाका लागि यात्रा मोढिएको थियो ।
कार्यक्रमको मूल उद्देश्य विश्वमा शान्ति स्थापना, मानवबीचको आपसी सद्भाव अभिवृद्धि र अहिंसाको सन्देश प्रवाह गर्नु रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।
उनले युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने, वातावरण संरक्षणप्रति सचेत बनाउने तथा सामाजिक उत्तरदायित्वबारे जागरूक गराउने लक्ष्य समेत राखिएको बताए ।
कार्यक्रममा धनगढी तथा अत्तरियाबाट समेत साईकल यात्री सहभागिता रहेको थियो । कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै यस्ता रचनात्मक र सन्देशमूलक कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने चैतन्यको लक्ष्य रहेको पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए ।
बुद्ध जयन्ती



