



जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव निर्धारित मितिमा विश्वासको मत लिनबाट पछि हटेका छन् । अब उनले आगामी जेठ ८ गते विश्वासको मत लिने तयारी गरिएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्री यादवले शुक्रबारका लागि तय गरिएको विश्वासको मतको प्रक्रिया स्थगित गर्दै जेठ ८ गतेका लागि सारिएको जानकारी दिएका हुन् ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि शुक्रबार बिहान ११ बजे प्रदेशसभा बैठक आह्वान गरेका थिए । तर सत्ता गठबन्धनभित्र बढ्दो असन्तुष्टि, आन्तरिक खटपट तथा आफ्नै दलभित्र देखिएको असहमतिका कारण अन्तिम समयमा आएर उनी पछि हटेका हुन् ।
स्रोतका अनुसार गठबन्धनका केही सांसद ‘फ्लोर क्रस’ गर्न सक्ने जोखिम देखिएपछि मुख्यमन्त्री यादवले तत्काल विश्वासको मत नलिने निर्णय गरेका हुन् । यही सम्भावित जोखिमलाई ध्यानमा राख्दै उनले थप राजनीतिक गृहकार्यका लागि समय लिएको बताइएको छ ।
यद्यपि प्रदेशसभा बैठक भने अन्य कार्यसूचीमार्फत सञ्चालन हुने जनाइएको छ ।
यसअघि गत वैशाख २१ गते सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि सरकार अल्पमतमा परेको भन्दै प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभाको सातौं अधिवेशन बोलाइएको थियो ।
जनकपुरधाम मुख्यमन्त्री कृष्णप्रसाद यादव



