



काठमाडौं । समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति गर्ने भए ‘कोट खोलेर आउन’ चुनौती दिएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले सर्वोच्च अदालतका न्यायाधीशहरूको मुख्य दायित्व न्याय सम्पादन रहेको उल्लेख गर्दै न्यायपालिकाले राजनीतिक उद्देश्यका साथ काम गर्न नहुने बताइन् ।
उनले भनिन्, ‘यदि न्यायपालिका सत्ता कब्जा गर्ने नियतले त्यो तहमा उत्रिएर काम गर्न थाल्यो भने त्यसले निष्पक्ष न्याय सम्पादन गर्न सक्दैन ।’
कानुनको विद्यार्थी भएको उल्लेख गर्दै बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूको प्रमुख धर्म, जिम्मेवारी र दायित्व नै न्याय सम्पादन भएको जिकिर गरिन् । न्याय सम्पादनभन्दा बाहिर गएर अन्य विषयमा विषयान्तर गर्न खोजिएको भन्दै उनले त्यसप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।
सांसद बाँस्कोटाले सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रति पनि असन्तुष्टि व्यक्त गरिन् । दरपीठ भएका रिट दर्ता गर्न आदेश दिएको विषय उठाउँदै उनले यस्तो निर्णय कतिको न्यायोचित हो भन्ने प्रश्न गरिन् ।
उनले भनिन्, ‘कामु प्रधानन्यायाधीशले डेलिगेशन बोलाएर दरपीठ भएका रिट दर्ता गर्न आदेश दिनु कतिको न्यायोचित हो ?’
कानुन दिवसका अवसरमा सपना प्रधान मल्लले दिएको अभिव्यक्तिप्रति पनि बाँस्कोटाले आपत्ति जनाइन् । ‘लडाईं अझै बाँकी छ’ भन्ने अभिव्यक्तिलाई लक्षित गर्दै उनले कससँग लडाईं बाँकी रहेको भन्ने प्रश्न गरिन् ।
‘यदि सत्तासँग लडाईं अझै बाँकी छ भन्नुभएको हो भने, राजनीति नै गर्न खोज्नुभएको हो भने कोट खोलेर आउनुहोला, हामी तयार छौं,’ उनले प्रतिनिधिसभामा भनिन् ।
समीक्षा बाँस्कोटा



