Logo
६ जेठ २०८३, बुधबार

बुद्ध एयरले नेपालगञ्ज–पोखरा उडान अनिश्चितकालका लागि रोक्यो

अक्षरपाटी
२०८३ जेठ ६ , बुधबार ०२:०५ मा प्रकाशित

नेपालगञ्ज । करिब पाँच वर्षदेखि सञ्चालन हुँदै आएको बुद्ध एयरको नेपालगञ्ज–पोखरा सिधा उडान सेवा अनिश्चितकालका लागि स्थगित गरिएको छ।

भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु तथा इन्धन खर्च अत्यधिक बढ्नुका कारण उडान सेवा स्थगित गरिएको बुद्ध एयर नेपालगञ्ज स्टेशन प्रमुख विनितविक्रम शाहले जानकारी दिए। उनका अनुसार मलमासका कारण भारतीय पर्यटकको आवागमन न्यून भएको र सञ्चालन खर्च बढेकाले उडान केही समयका लागि रोकिएको हो।

२०७८ साउन १७ गतेदेखि सातामा तीन दिन सञ्चालन हुँदै आएको उक्त उडान मङ्गलबारदेखि बन्द गरिएको हो। पर्यटन प्रवर्द्धन तथा भारतीय पर्यटकलाई सहज यात्रा सुविधा दिने उद्देश्यले सुरु गरिएको सेवा बन्द भएपछि पश्चिम नेपालका पर्यटन व्यवसायी, यात्रु तथा सर्वसाधारण निराश बनेका छन्।

सिधा हवाई सेवा बन्द भएसँगै यात्रु फेरि लामो तथा सकसपूर्ण सडक यात्रामा निर्भर हुनुपर्ने अवस्था आएको छ। यसअघि नेपालगञ्जबाट पोखरा करिब ३५ मिनेटमै पुग्न सकिने सुविधा उपलब्ध थियो भने अब सडकमार्ग हुँदै कम्तीमा १४ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ।

एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) नेपालगञ्जको पहलमा सञ्चालनमा आएको उक्त सेवाले पोखरा, बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णाली चिसापानी तथा राराजस्ता पर्यटकीय गन्तव्य जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो। साथै भारतका लखनउ, कानपुर र दिल्लीबाट आउने पर्यटकलाई समेत सहज आवतजावतको सुविधा मिलेको थियो।

नाट्टा नेपालगञ्जका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले सरकारको आवश्यक पहल अभावका कारण सेवा बन्द हुने अवस्थामा पुगेको बताए। उनले निजी क्षेत्रको सक्रियतामा सुरु भएको सेवा दीर्घकालीन बनाउन सरकारी सहयोग आवश्यक रहेको उल्लेख गरे।

बुद्ध एयरले १८ सिट क्षमताको बीचक्राफ्ट १९०० डी सिरिज जहाजमार्फत सेवा सञ्चालन गर्दै आएको थियो। उडान सुरु हुँदा न्यूनतम भाडा चार हजार ९३५ रुपैयाँदेखि अधिकतम सात हजार ६३५ रुपैयाँसम्म निर्धारण गरिएको थियो। पछि इन्धन मूल्यवृद्धिसँगै भाडादर बढ्दा यात्रुको चाप घटेको र त्यसकै असर उडान सेवामा परेको कम्पनीले जनाएको छ।

बुद्ध एयरलाइन्स

ट्रेन्डिङ ( साप्ताहिक )