



विश्वको कूल आर्थिक वृद्धिमा करिब ३० प्रतिशत चीनको योगदान
बेइजिङ, २१ मे २०२६। चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा ‘चाइना इन्टरनेसनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा औपचारिक उद्घाटन भएको छ।
९० देशका ९८ पत्रकार सहभागी भएका कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको भनाइ छ।
उद्घाटन समारोहमा चिनियाँ वरिष्ठ अधिकारी, कूटनीतिज्ञ, शिक्षाविद् तथा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व, युरेसिया र मध्य तथा पूर्वी युरोपका सहभागी पत्रकारहरूले सम्बोधन गरेका थिए।
प्रमुख वक्ताका रुपमा सहायक परराष्ट्रमन्त्री होङ लईले ९० देशका पत्रकारहरूको सहभागिताले ग्लोबल साउथको एकता र सहकार्यको उत्कृष्ट नमुनालाई प्रदर्शन गरेको बताए।
चिनियाँ आधुनिकीकरणप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला सीआइपीसीसीले चीनको झ्याल र पुलको काम गरेको उनको भनाइ थियो।
होङले चीनको अर्थतन्त्र १४० खर्ब युआनभन्दा बढी पुगेको र लगातार आठ वर्षदेखि विश्वको कूल आर्थिक वृद्धिमा करिब ३० प्रतिशत योगदान गरेको तथ्यांक सुनाउँदै कृत्रिम बौद्धिकता (एआई), नवीकरणीय ऊर्जा, औद्योगिक रोबोटिक्स, गरिबी निवारण र सामाजिक कल्याणमा हासिल गरेको प्रगति पनि प्रस्तुत गरे। उनले चीनको विकास मोडललाई अन्य विकासोन्मुख राष्ट्रहरूका लागि सम्भावित सन्दर्भ बिन्दुका रूपमा प्रस्तुत गरे।
विश्वव्यापी भूराजनीतिक अस्थिरता, एकपक्षीयता र संरक्षणवादको सन्दर्भ उल्लेख गर्दै होङले बहुपक्षीयता र अन्तर्राष्ट्रिय सहकार्यका लागि चीनको समर्थन रहने दोहोर्याए।
चिनियाँ राष्ट्रपति सी चिनफिङको मानव जातिको साझा भविष्यसम्बन्धी अवधारणाको चर्चा गर्दै आफ्नो मुलुकले विकासको खाडल कम गर्न शान्ति तथा सभ्यताबारे आपसी सिकाइलाई बढावा दिने वैश्विक पहलहरू अघि सारेको जानकारी पनि दिए।
उनले यसै वर्ष सेन्जेनमा चीनले एपेक बैठकको आयोजना गर्न लागेको र यसले एसिया-प्रशान्त क्षेत्रमा क्षेत्रीय एकीकरण र आर्थिक सहकार्यमा योगदान पुर्याउने ठोकुवा पनि गरे।
कार्यक्रममा चीन पब्लिक डिप्लोमेसी एसोसिएसनकी उपाध्यक्ष थोङ स्याओलिङले पत्रकारहरूलाई जनता-जनताबीचको सम्बन्धको सेतुको संज्ञा दिँदै वैश्विक उथलपुथल र भूराजनीतिक अनिश्चितताका बीच अन्तरसांस्कृतिक सञ्चारको बढ्दो महत्त्व औंल्याइन्।
उनले सीआइपीसीसीको स्थापना अन्तर्राष्ट्रिय पत्रकारहरूलाई चीनबारे थाहा पाउन, बुझ्न र वास्तविक अनुभव गर्न सघाउने गरी लागि गरिएको बताइन्।
पछिल्लो १२ वर्षमा यस कार्यक्रमले १४० भन्दा बढी विकासोन्मुख र उदीयमान देशका करिब १ हजार पत्रकारहरूलाई सहभागी गरिसकेको जानकारी पनि उनले दिइन्।
थोङले सहभागी पत्रकारहरूले चीनको आर्थिक तथा सामाजिक परिवर्तनको दस्तावेजीकरण गर्दै पश्चिमी कथाभन्दा भिन्न एक वास्तविक र विविध चीन प्रस्तुत गर्ने विश्वास पनि व्यक्त गरिन्।
यस कार्यक्रमलाई उनले चीनको परम्परागत ‘साओमान’सँग तुलना गर्दै उनले यसबाट संयमित भावना, स्थिर वृद्धि र दिगो प्रगतिका कथाहरु पस्किन सघाउन सक्ने धारणा राखिन्।
रनमिन युनिभर्सिटी अफ चाइनाका अध्यक्ष मा ह्वाइतले द्रुत रूपमा बदलिँदो विश्व सञ्चार वातावरणमा पत्रकारहरूको भूमिका अझै महत्त्वपूर्ण बन्दै गएको उल्लेख गरे। ‘पत्रकारहरू संसारका आँखा र कान हुन्,’ माले भने, ‘तपाईंहरूले आफ्नो लेन्सबाट सत्य व्यक्त गर्नुहुन्छ। शब्दमार्फत समयलाई अभिलिखित गर्नुहुन्छ, जसले विविध सभ्यता र राष्ट्रहरूबीचको आपसी समझदारी र सहमति निर्माणमा महत्त्वपूर्ण पुलको काम गर्दछ।’
उनले प्रविधिको विकासले विश्वव्यापी सम्पर्क बढाए पनि भूराजनीतिक द्वन्द्व र सूचना दुरुपयोगले विभाजन र गलत बुझाइलाई गहिरो बनाएको औंल्याए।
रनमिन युनिभर्सिटीले अन्तर्राष्ट्रिय सञ्चार सुदृढीकरणका लागि गरेका प्रयासबारे उल्लेख गर्दै उनले स्कुल अफ इन्टरनेसनल कम्युनिकेसन, ग्लोबल पब्लिक ओपिनियन रिसर्च सेन्टर तथा मिङ्सिन लार्ज मोडलजस्ता एआई-आधारित पहलहरू समावेश गरिरहेको जानकारी दिए।
उनले पहिलोपटक सबै सीआईपीसीसी सहभागीहरूलाई विश्वविद्यालयभित्रै राखिएको भन्दै उनले यसलाई घरजस्तै सम्झिन आग्रह पनि गरे। उनले सहभागीहरूलाई सम्पूर्ण चीनमा गहन अध्ययन भ्रमण गर्न, पत्रकारिता आचारसंहिता पालना गर्न तथा अन्तरसांस्कृतिक संवाद र जनस्तरको सम्पर्कलाई बढावा दिन आग्रह पनि गरे।
सीआईपीसीसी सहभागी पत्रकारहरूले चीनको बेइजिङ-तियान्जिन-हेबेई क्षेत्र, याङ्त्जे नदी डेल्टा, ग्रेटर बे एरिया र पश्चिमी चीनका धेरै क्षेत्रहरू भ्रमण गर्ने कार्यक्रम रहेको छ।
यस कार्यक्रमअन्तर्गत प्रविधि कम्पनी, ग्रामीण समुदाय, कारखाना, विद्यालय र सांस्कृतिक स्थलहरूको अवलोकनका साथै चीनको आर्थिक विकास, शासन प्रणाली, आधुनिकीकरण र सभ्यतासम्बन्धी सेमिनारहरू समावेश छन्। विभिन्न बहुपक्षीय मञ्चले आयोजना गर्ने उच्चस्तरीय कार्यक्रममा पनि यी पत्रकारहरु सहभागी हुनेछन्।
रावलद्वारा नेपालको प्रतिनिधित्व
नेपालबाट पत्रकार रामबहादुर रावल सहभागी छन्। करिब दुई दशकदेखि मूलधारको सञ्चारमाध्यममा सक्रिय रावलले नेपालखबर डटकम, ग्यालेक्सी टेलिभिजन, कान्तिपुर टेलिभिजनलगायतका न्यूजरुममा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
रावल अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको प्रेस सल्लाहकारको जिम्मेवारी पूरा गरेर चीन भ्रमणमा गएका हुन्।
सहायक परराष्ट्रमन्त्री होङले सहभागी पत्रकारहरूलाई वस्तुपरक र सत्यको अभिलेखकर्ता बन्न आग्रह गर्दै भने, ‘म आशा गर्दछु कि तपाईंहरू मित्रताका प्रवर्द्धक बन्नुहोस्, ताकि तपाईंहरूमार्फत ग्लोबल साउथका थप मित्रहरूले चीनलाई बुझून्, चीनको गहिरो ज्ञान राखून् र चीनका जनता तथा ग्लोबल साउथका साथीहरूबीचको सम्बन्ध अझै निकट बनोस्।’
समारोहमा सहभागी पत्रकार प्रतिनिधिहरूले कार्यक्रमबाट आफ्ना अपेक्षा र अन्तर्राष्ट्रिय सञ्चार सहकार्य तथा अन्तरसांस्कृतिक समझदारीको महत्त्वबारे विचार राखेका थिए।
आयोजकहरूले यस कार्यक्रमले चीन र ग्लोबल साउथका सञ्चार समुदायबीचको सहकार्य अझ सुदृढ गर्दै जिम्मेवार पत्रकारिता र जनस्तरको सम्पर्कमार्फत आपसी समझदारी अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।
बेइजिङ



