



बजेटमा सातै प्रदेशमा खेलकुद पूर्वाधार र गतिविधिलाई प्राथमिकता दिइने, वनजंगल तथा प्राकृतिक स्रोत व्यवस्थापनमार्फत आम्दानी वृद्धि गर्ने, कर्मचारीको तलब वृद्धि, धुमपान तथा मदिराजन्य पदार्थमा कर बढाउने तथा सवारी साधनका क्षेत्रमा उपभोक्तामैत्री र उत्साहजनक व्यवस्था ल्याइने सम्भावना छ।
काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक बजेट आज सार्वजनिक गर्दैछ।
संघीय संसदको संयुक्त बैठकमा दिउँसो ४ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।
यसअघि वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएपछि सरकारले नयाँ बजेट ल्याउन लागेको हो।
सरकारले यस वर्ष भौतिक तथा डिजिटल पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको स्रोतले जनाएको छ।
सडक, ऊर्जा, सूचना प्रविधि, डिजिटल सेवा विस्तार तथा सार्वजनिक सेवा प्रणालीको आधुनिकीकरणलाई बजेटमा विशेष जोड दिइने अपेक्षा गरिएको छ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको स्रोत समितिले १८ खर्ब ९० अर्ब रुपैयाँको बजेट सीमा निर्धारण गरेको भए पनि अर्थमन्त्री वाग्लेले करिब साढे ३ खर्ब रुपैयाँ बढी आकारको बजेट ल्याउने तयारी गरेको स्रोतको दाबी छ।
यसअनुसार आगामी बजेटको आकार करिब २२ खर्ब रुपैयाँभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ।
बजेटमा सातै प्रदेशमा खेलकुद पूर्वाधार र गतिविधिलाई प्राथमिकता दिइने, वनजंगल तथा प्राकृतिक स्रोत व्यवस्थापनमार्फत आम्दानी वृद्धि गर्ने योजना समावेश हुने अपेक्षा गरिएको छ।
यस्तै, सरकारी कर्मचारीको तलब वृद्धि, धुमपान तथा मदिराजन्य पदार्थमा कर बढाउने तथा सवारी साधनका क्षेत्रमा उपभोक्तामैत्री र उत्साहजनक व्यवस्था ल्याइने सम्भावना रहेको स्रोतले जनाएको छ।
आर्थिक सुस्तता, राजस्व संकलनको चुनौती र विकास खर्चको प्रभावकारिताबीच आउने यस वर्षको बजेटलाई सरकारको आर्थिक पुनरुत्थान रणनीतिको महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ।
डा. स्वर्णिम वाग्ले बजेट



