



ललितपुर। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नो नवौँ वार्षिकोत्सवका अवसरमा नेपालको क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक घोषणा गरेको छ।
अस्पतालले १०० करोड रुपैयाँको लगानीमा विश्वस्तरीय सर्वाङ्गीण क्यान्सर केन्द्र निर्माण गर्ने आगामी १० वर्षको महत्वाकांक्षी रणनीतिक योजना सार्वजनिक गरेको हो।
ललितपुरको हरिसिद्धिस्थित अस्पतालले रोबोटिक सर्जरी, न्युक्लियर मेडिसिन (PET-CT), अत्याधुनिक प्रयोगशाला, बोन म्यारो ट्रान्सप्लान्ट, सेलुलर थेरापी तथा विशेषज्ञ उपचार सेवाहरू एउटै छानामुनि उपलब्ध गराउने गरी दक्षिण एसियाकै अग्रणी क्यान्सर उपचार केन्द्र निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।
हस्पिटलको ९ नवौँ वार्षिक उत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका संस्थापक अध्यक्ष डा. सुदीप श्रेष्ठले उक्त योजना सुनाएका हुन्।
नाै वर्ष अघि ‘नेपालको क्यान्सरको उपचार नेपालमै’ भन्ने सपनासहित स्थापना भएको नेपाल क्यान्सर अस्पता आज देशकै तस्रो ठूलो उपचार केन्द्रका रुपमा स्थापित भइसकेको छ।
‘अब नयाँ चरणमा प्रवेश गर्ने योजना घोषणा गर्दैछाैँ’, अस्पतालका अध्यक्ष डा श्रेष्ठले भने, ‘विश्वस्तरीय प्रविधि र विशेषज्ञ सेवा नेपालमै उपलब्ध गराएर क्यान्सर उपचारका लागि विदेश जाने बाध्यता अन्त्य गर्ने हाम्रो लक्ष्य हो।’
चितवन क्यान्सर अस्पताल र भक्तपुर पछि नेपाल क्यान्सर अस्पताल वर्षमा करिब २ हजार नयाँ विरामीको उपचार गर्ने तेस्रो अस्पताल भए पनि निजी स्थरको भने पहिलो हो।
आज पनि नेपालका हजारौँ बिरामी उपचारका लागि हरेक वर्ष भारत तथा अन्य मुलुक जान बाध्य भइरहेका छन्। नेपाल क्यान्सर हस्पिटलको नयाँ विस्तारित योजनाले नेपाली बिरामीलाई आफ्नै देशमा अन्तर्राष्ट्रियस्तरको उपचार उपलब्ध गराउने मात्र नभइ, नेपाललाई क्षेत्रीय स्वास्थ्य गन्तव्यका रूपमा समेत स्थापित गर्ने विश्वास अध्यक्ष श्रेष्ठले व्यक्त गरे।
क्यान्सर उपचारका क्षेत्रमा ९ वर्षमै स्थापित अस्पताल
करिब एक दशकअघि स्थापना भएको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर अहिले नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा परिचित छ। अस्पतालमा ११० विशेषज्ञ चिकित्सक, २९० नर्स, ९८ प्राविधिक तथा अन्य गरि ६१० जना जनशक्ति कार्यरत छन्।
बहुविषयगत (Multidisciplinary Oncology) उपचार प्रणालीलाई प्राथमिकता दिँदै आएको अस्पतालले क्यान्सरको पहिचान, उपचार, शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी तथा अनुसन्धानलाई एकीकृत रूपमा सञ्चालन गर्दै आएको छ।
अस्पतालले हालसम्म हजारौँ बिरामीलाई सेवा प्रदान गर्नुका साथै आर्थिक रूपमा कमजोर बिरामीका लागि सहुलियत तथा विशेष सहायता कार्यक्रम सञ्चालन गर्दै आएको छ।

अत्याधुनिक भवनसहित २०० बेड थपिने
अस्पतालले सार्वजनिक गरेको गुरुयोजनाअनुसार ‘ब्लक बी’ मा नयाँ तला निर्माण गरी थप २०० बेड क्षमता विस्तार गरिनेछ अध्यक्ष श्रेष्ठले जानकारी गराए। यससँगै अस्पतालको उपचार क्षमता ऐतिहासिक रूपमा बढ्ने अपेक्षा गरिएको छ।
‘ब्लक ए’ को विस्तार गरी अत्याधुनिक अपरेसन थिएटर, पोस्ट–अपरेटिभ वार्ड र आईसीयू स्थापना गरिनेछ। यसले जटिल क्यान्सर शल्यक्रियालाई थप सुरक्षित र प्रभावकारी बनाउने अस्पतालको विश्वास छ।
नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक सर्जरी
विस्तार योजनाको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये रोबोटिक सर्जरी सेवा हो। यस प्रविधिबाट जटिल क्यान्सर शल्यक्रिया अझ बढी छरितो, सुरक्षित र कम जोखिमयुक्त हुने चिकित्सकहरूको भनाइ छ।
यससँगै पेट सिटी सहितको न्युक्लियर मेडिसिन विभाग स्थापना गरिने भएको जानकारी पत्रकार सम्मेलनमा गराइएको छ। जसले क्यान्सरको प्रारम्भिक पहिचान र उपचारको प्रभावकारिता मूल्याङ्कनमा महत्वपूर्ण भूमिका खेल्नेछ।
एउटै केन्द्रमा सम्पूर्ण निदान
अस्पतालले Cathlab, Full Phase IHC तथा Microbiology Laboratory स्थापना गर्ने जनाएको छ। यसबाट क्यान्सर निदानका लागि आवश्यक अधिकांश परीक्षण नेपालमै उपलब्ध हुनेछन्।
डिजिटल PACS प्रणाली र Paperless HMIS लागू गरिने भएकाले बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण डिजिटल माध्यमबाट व्यवस्थापन गरिनेछ। यसले सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बोन म्यारो ट्रान्सप्लान्ट र सेलुलर थेरापी
महत्वाकांक्षी योजनाअन्तर्गत बोन म्यारो ट्रान्सप्लान्ट तथा सेलुलर थेरापी सेन्टर स्थापना गरिने भएको छ। हाल यस्ता उपचारका लागि धेरै नेपाली बिरामी विदेश जान बाध्य छन्।
त्यसैगरी ग्यास्ट्रो–इन्टेस्टाइनल रोग तथा श्वासप्रश्वास र छाती रोगसम्बन्धी विशेष केन्द्र पनि स्थापना गरिनेछ। अस्पतालले समर्पित डायग्नोस्टिक सेन्टर, विस्तारित ओपीडी सेवा, पोलिक्लिनिक तथा वेलनेस सेन्टर सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेको छ।
चिकित्सा शिक्षामा जोड
नेपाल क्यान्सर हस्पिटलले महत्वाकांक्षी योजना सम्पन्न गर्न आवश्यक जनशक्तिको भने अभाव रहेकाले त्यसका लागि चिकित्सा शिक्षामा समेत लगानी बढाउने जनाएको छ। औपचारिक शैक्षिक कार्यक्रम सुरु गरी नेपाललाई क्यान्सर विशेषज्ञ उत्पादन गर्ने केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए।
अस्पतालले देशका प्रमुख शहरहरूमा स्याटेलाइट सेन्टर स्थापना गरी क्यान्सर सेवा राजधानीबाहिर पनि विस्तार गर्ने जनाएको छ।

नेपाललाईस्वास्थ्य गन्तव्य बनाउने लक्ष्य
अस्पतालका अनुसार विश्वस्तरीय प्रविधि, अनुसन्धान, विशेषज्ञ जनशक्ति र आधुनिक पूर्वाधारको संयोजनमार्फत नेपाललाई दक्षिण एसियाको अग्रणी क्यान्सर उपचार केन्द्र बनाउने दीर्घकालीन रणनीति तयार गरिएको जनाएको छ।
अस्पतालले भारत, बंगलादेश, भुटान, म्यानमार लगायतका छिमेकी देशका बिरामीलाई समेत नेपालमा उपचारका लागि आकर्षित गर्ने लक्ष्य राखेको जनाएको छ।
‘उत्कृष्टता, करुणा र समानता’लाई मूल मन्त्रका रूपमा अघि बढाएको एनसीएचआरसीले आगामी विस्तार योजनालाई अस्पताल विस्तारका रूपमा मात्र नभई नेपालको स्वास्थ्य क्षेत्रको नयाँ युगको सुरुआतका रूपमा लिएको दाबी गरेको छ।
‘नेपालको क्यान्सरको उपचार नेपालमै’ भन्ने स्थापना कालको नारालाई सार्थक बनाउने गन्तव्यमा अस्पतालले अहिलेसम्कै सबैभन्दा ठूलो लगानी र विस्तार योजना सार्वजनिक गरेको हो। हालसम्म अस्पतालले २०० करोड लगानी गरिसकेको छ। थप १०० करोडको योजना नवौँ वार्षिक उत्सवका अवसरमा सार्वजनिक गरिएको हो।



