



काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको कटारीबाट बेलका जाँदै गर्दा उनी दुर्घटनामा परेका हुन्।
पार्टी स्रोतका अनुसार साम्पाङले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिचिरहेका बेला सन्तुलन गुमाउँदा मोटरसाइकल लडेको हो।
दुर्घटनापछि साम्पाङले आफैं सामाजिक सञ्जालमार्फत भिडिओ सार्वजनिक गर्दै आफ्नो हातमा लागेको चोट देखाएका छन्। सार्वजनिक भिडिओमा उनको एक हातको छाला ताछिएको तथा लगाएको सुरुवाल समेत च्यातिएको देखिन्छ।
दुर्घटनापछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै साम्पाङले लेखेका छन्, ‘म आफैँ लडेँ, चोट मलाई नै लाग्यो। अलिअलि चोट लाग्नु पनि पर्छ। तर देशलाई चोट दिएको छैन मैले। धेरै नआत्तिनु।’
यता श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले अध्यक्ष साम्पाङको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सामान्य चोटपटक बाहेक अन्य गम्भीर समस्या नरहेको बताएका छन्।
किरातीले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो। तर उहाँलाई सामान्य चोटपटक मात्र लागेको छ। स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र उहाँ सधैंझैँ आफ्नो दैनिकीमा सक्रिय हुनुहुन्छ।’
हर्क साम्पाङ


