



मनिला। फिलिपिन्समा आज बिहान ७ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्प स्थानीय समयअनुसार बिहानको समयमा आएको हो। नेपालको समयअनुसार आज बिहान ५ बजेर २१ मिनेटमा गएको भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको दक्षिणी भागस्थित मिन्दानाओ द्वीपको जनरल सान्तोस सहरबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको थियो।
प्रहरीका अनुसार भूकम्पका कारण हालसम्म कम्तीमा तीन जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्। ३७ वटा भवनमा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। क्षतिग्रस्त भवनहरू अधिकांश पसल, कार्यालय तथा व्यावसायिक संरचनाहरू छन्।
३ मिटर उचाइको सुनामी छाल आउन सक्ने
प्यासिफिक सुनामी चेतावनी केन्द्रले फिलिपिन्सका केही तटीय क्षेत्रमा तीन मिटरसम्म उचाइका छालहरू उठ्न सक्ने चेतावनी दिएको छ। त्यस्तै इन्डोनेसिया र मलेसियाका केही समुद्री किनारामा एक मिटरसम्म उचाइका छालहरू आउने सम्भावना रहेको बताइएको छ।
फिलिपिन्सको भूकम्प विज्ञान संस्थानले भूकम्पको केन्द्र १० किलोमिटर गहिराइमा रहेको जनाएको छ। युएसजीएसले ५५ किलोमिटर गहिराइ मापन गरेको छ।
मानिसहरू सडकमा
भूकम्पपछि जनरल सान्तोसका केही क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। शक्तिशाली कम्पनका कारण सर्वसाधारण घर तथा कार्यालयबाट बाहिर निस्केर सडकमा आएका छन्।
जनरल सान्तोस सिटी प्रहरीका मास्टर सार्जेन्ट रोबर्ट डागनले राहत तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन्।
सराङ्गानी प्रान्तको अलाबेल नगरका प्रहरी प्रमुख बेन्जी एन्चेटाले प्रहरी कार्यालय भवनमै चिरा परेको बताएका छन्। उनले यो आफूहरूले अनुभव गरेको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन्।
राष्ट्रपति मार्कोसको निर्देशन
फिलिपिन्सका राष्ट्रपतिले सबै सम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन निर्देशन दिएका छन्। प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सहायता उपलब्ध गराउने कार्य सुरु गरिएको छ।
लगातार परकम्प
मुख्य भूकम्पपछि सोही क्षेत्रमा लगातार परकम्प (आफ्टरशक) हरू महसुस गरिएको छ। विज्ञहरूका अनुसार यस्ता परकम्पहरू ठूला भूकम्पपछि सामान्य रूपमा देखिने प्रक्रिया हुन्।
वैज्ञानिकहरूले परकम्पहरू केही दिनदेखि वर्षौंसम्म जारी रहन सक्ने र कहिलेकाहीँ मुख्य भूकम्पसरह वा त्योभन्दा बढी शक्तिशाली हुन सक्ने चेतावनी दिएका छन्।
‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने देश
फिलिपिन्स, इन्डोनेसिया र जापान प्रशान्त महासागरको अत्यन्त सक्रिय भूकम्पीय क्षेत्र ‘रिङ अफ फायर’ भित्र पर्छन्। टेक्टोनिक प्लेटहरूको निरन्तर गतिविधिका कारण यस क्षेत्रमा बारम्बार भूकम्प तथा ज्वालामुखी विस्फोट हुने गर्छ।
यसै कारण फिलिपिन्स विश्वका सबैभन्दा बढी प्राकृतिक विपद् प्रभावित मुलुकमध्ये एक मानिन्छ। त्यहाँ प्रत्येक वर्ष दर्जनौं भूकम्पका साथै करिब २० वटा आँधी तथा चक्रवात पुग्ने गरेका छन्।
इन्डोनेसिया, मलेसिया र जापानमा पनि सतर्कता
भूकम्पका धक्का इन्डोनेसियाको उत्तर सुलावेसी र उत्तर मालुकु क्षेत्रमा समेत महसुस गरिएको छ। इन्डोनेसियाको मौसम तथा भूभौतिकी एजेन्सीले उत्तर–पूर्वी तटीय क्षेत्रका लागि सुनामी चेतावनी जारी गरेको छ।
मलेसियाका केही समुद्री किनारामा पनि एक मिटरसम्म उचाइका छाल आउने जोखिम औँल्याइएको छ।
उता जापान मौसम एजेन्सीले इबाराकीदेखि ओकिनावासम्मका दक्षिणी तटीय क्षेत्रका लागि सुनामी सम्बन्धी सतर्कता सूचना जारी गरेको छ। अमेरिकी सुनामी चेतावनी प्रणालीले गुआमका लागि समेत चेतावनी दिएको छ।
– विभिन्न एजेन्सीको सहयोगमा
फिलिपिन्स भूकम्प


