



काठमाडौं। आज बिहान फिलिपिन्समा गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। तमामाैं भवन तथा संरचना भत्किएका छन्।
प्रभावित संरचनामा अधिकांश पसल, कार्यालय तथा व्यावसायिक भवनहरू रहेको बताइएको छ।
प्रहरीका अनुसार हालसम्म घटनास्थलबाट १५ जनाको शव निकालिएको छ। उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार भूकम्प नेपाली समयअनुसार बिहान ५ः२१ बजे गएको थियो। भूकम्पको केन्द्र फिलिपिन्सको मिन्दानाओ द्वीप नजिकै जमिनको सतहबाट करिब ३५ किलोमिटर मुनी रहेको छ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थान (फिभोल्क्स) ले स्थानीय समयअनुसार बिहान ११ बजेसम्म १३८ वटा पराकम्पन रेकर्ड गरिएको जनाएको छ। ती पराकम्पनहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको बताइएको छ। अहिले पनि प्रभावित क्षेत्रमा लगातार पराकम्पनहरू आइरहेको बताइएको छ।
भूकम्पका कारण मिन्दानाओ द्वीपका ६ वटा क्षेत्रमा सुनामीका छालहरू देखिएका छन्। सबैभन्दा ठूलो सुनामी छालको उचाइ करिब ४.६ फिट मापन गरिएको थियो।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै छिमेकी देश इन्डोनेसिया र मलेसियाले समेत सुनामीको चेतावनी जारी गरेका थिए।
अधिकारीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, तटीय क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा पराकम्पनको सम्भावनालाई ध्यानमा राख्दै सुरक्षा निर्देशिकाको पालना गर्न आग्रह गरेका छन्।
फिलिपिन्स भूकम्प


