



o प्रदिया राज्यलक्ष्मी शाह
जब मनमा पीडा मडारिन्छन्,
म आकाशका काला बादल हेर्छु
ऊ पनि बेचैन देख्छु
म जस्तै !
जब आँखामा आँसुहरू थामिन मान्दैनन्,
म बलेसी हेर्छु
र चुहिरहेका पानीका थोपाहरुसँगै
मनका थुप्रै अव्यक्त कथाहरू बगाइदिन्छु।
जब एक्लोपनले सताउछ,
जब शून्य महसुस गर्छु
म जून हेर्छु !
जहाँ अँध्यारोको विशाल साम्राज्यमा
एउटा मधुरो विश्वास
एक्लै उभिएको देख्छु।
जब मनले साथ र सारथि खोज्छ,
थाकेका आँखाहरुले विश्राम खोज्छन्,
म तिम्रो तस्बिर हेर्छु…
साहेब !!!



