



चितवन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच राजनीतिक परिवर्तन, समाज रूपान्तरण र सुशासनका एजेन्डामा उल्लेख्य समानता रहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनलाई आइतबार चितवनमा सम्बोधन गर्दै पुनले दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक निरन्तरतामा हस्तक्षेप गर्दै नयाँ राजनीतिक मार्ग निर्माण गरेको उल्लेख गरे।
‘तपाईंहरू र हाम्रा धेरै विषयमा समानता छन्। हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभंगता गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,’ उनले भने।
पुनले रास्वपा र माओवादी केन्द्रको राजनीतिक पृष्ठभूमि तथा कार्यशैली फरक भए पनि परिवर्तन र समाज रूपान्तरणका मूल एजेन्डामा दुवै दलबीच निकटता रहेको धारणा व्यक्त गरे।
‘पृष्ठभूमि र तरिका फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा हामी तपाईंहरूलाई नजिक पाउँछौँ,’ उनले भने।
उनले सुशासनको मुद्दामा पनि दुई दलबीच उल्लेखनीय सहकार्य भएको दाबी गरे। ‘सुशासनको एजेन्डामा नेकपा (माओवादी केन्द्र) र रास्वपाको जति निकट सहकार्य अन्य दलसँग भएको छैन,’ पुनले बताए।
उनले लोकतान्त्रिक प्रणालीलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन राजनीतिक शक्तिहरूबीच साझा एजेन्डामा सहकार्य आवश्यक रहेको धारणा पनि राखे।
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना मन्तव्य राख्दै पार्टीको आगामी यात्राका लागि शुभेच्छा व्यक्त गरिरहेका छन्।
वर्षमान पुन


