Logo
१५ असार २०८३, सोमबार

स्वास्थ्य तथा खाद्य स्वच्छताका लागि बजार अनुगमन तीव्र, ‘जंकफुड’तर्फ भने सरकारले ध्यान नदिएको गुनासो

अक्षरपाटी
२०८३ असार १५ , सोमबार ०१:०६ मा प्रकाशित

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेताको निर्देशनमा बजार अनुगमनलाई थप तीव्र बनाइएको छ।

मन्त्रालयले खाद्य सुरक्षा, गुणस्तर तथा उपभोक्ता स्वास्थ्य संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अनुगमन र परीक्षण तीव्र पारेको मन्त्रालयले जनाएको छ।

बजारमा अखाद्य वस्तुको विक्रिवितरणको गुनासो बढेपछि मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिति असार १४ गते (आइतबार) काठमाडौं उपत्यकामा घुम्ती प्रयोगशाला (मोबाइल ल्याब) सहित तीनवटा छुट्टाछुट्टै टोली परिचालन गरी व्यापक अनुगमन तथा निरीक्षण गरेको हो।

होटल तथा रेष्टुरेन्ट अनुगमन टोलीले काठमाडौं महानगरपालिका १०, बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरको स्टोरमा Cosmetic Grade को Rose Water खाद्य प्रयोजनका लागि राखिएको भेटेपछि उक्त अखाद्य Rose Water तत्काल नष्ट गरेको छ।

साथै, सम्बन्धित व्यवसायीलाई आवश्यक कागजातसहित पाँच दिनभित्र विभागमा उपस्थित भई स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

त्यसैगरी, दोस्रो टोलीले कालिमाटी फलफूल तथा तरकारी बजार बाट विभिन्न तरकारी तथा फलफूलका नमुना संकलन गरी विषादी अवशेष परीक्षण गरेको थियो।

परीक्षण गरिएका २२ वटा विभिन्न प्रकारका ताजा फलफूल तथा तरकारी को प्रतिवेदन खाद्य मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।

यसैबीच, तेस्रो टोलीले भक्तपुरस्थित दुई डेरी उद्योगमा अनुगमन गरी उत्पादन प्रक्रिया, सरसफाइ तथा गुणस्तर व्यवस्थापनमा आवश्यक सुधार गर्न निर्देशन दिएको छ।

यद्यपि बजारमा खुलेयाम बिक्रीवितरण भइरहेका प्याकेटका जंकफुडहरुतर्फ भने सरकारको ध्यान नगएको जनगुनासो उच्च छ। चाउचाउ, चिजबल, नमकिनलगायतका बस्तुहरु मानव स्वास्थ्यका लागि निकै हानिकारक रहेको खाद्यविज्ञहरुको भनाइ छ।

मन्त्री निशा मेहेताले जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य तथा उपभोग्य वस्तुको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट गर्दै उपभोक्ताको स्वास्थ्यमा जोखिम सिर्जना गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गरिने बताइन्।

उनले बजारलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय बनाउन मन्त्रालयको अनुगमन तथा नियमन अभियान अझ प्रभावकारी ढंगले निरन्तर सञ्चालन हुने पनि जानकारी दिइन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनसम्बन्धी विस्तृत विवरण संलग्न प्रतिवेदनमार्फत सार्वजनिक गरेको जनाएको छ।

बजार अनुगमन

ट्रेन्डिङ ( साप्ताहिक )