Logo
१६ असार २०८३, मंगलबार

चाैमाला–खैराला सडक : २० वर्षदेखिको अधुरो यात्रा, अपुरै सपना

अक्षरपाटी
२०८३ असार १६ , मंगलबार ११:०६ मा प्रकाशित

‘हामीले राज्य भएको अनुभूति आखिर कहिले गर्ने?’

o शंकर खैराली

कैलाली, १६ असार। २०६४ साल ! तत्कालीन सभासद् लेखराज भट्टले चाैमाला–खैराला सडकमार्गको शिलान्यास गरे। साबिक खैराला र निगाली गाविसका बासिन्दालाई लाग्यो- ‘अब हाम्रा दुःखका दिन गए।’

वर्षौंदेखिको बाबियो, खर र चट्टानी ढुंगाका काप समातेर यात्रा गर्ने यहाँका बासिन्दाले एउटा सपना देखे- ‘अब त हामी पनि गाडीमा सररर !’ वर्षायाममा उर्लने पहाडी ठाडा खाेलाको त्रासबाट त्राण मिल्ने आशा उनीहरूमा सञ्चारित भयो।

सपना देख्नु, आसा पाल्नु एक नागरिकको हैसियतले खराब हाेइन, जायज हो-त्यो पनि संघीय लोकतान्त्रिक मुलुकमा।

विडम्बना ! शिलान्यास भएको झण्डै दुई दशक बितिसक्दा पनि त्यो आशा अझै अपुरै छ, बाटो अधुरै छ।

आज पनि यो सडक बाह्रै महिना सञ्चालन हुने अवस्थामा पुगेको छैन। वर्षा लाग्नासाथ सडक पहिरोले पुरिन्छ। नभए हिलोको दलदलमा परिणत हुन्छ, खोलाहरू उन्मत्त भएर उर्लिन्छन् र यात्रा भगवानको भरोसा बनिदिन्छ।

हिउँदमा भने धुलोले सडक मात्र होइन, स्थानीयको दैनिकी नै ढाकिदिन्छ।

चाैमाला–खैराला सडकमार्ग अन्तर्गत चुरे गाउँपालिका ४ र २ हुँदै गाउँपालिका कार्यालय जोड्ने ‘रिङ रोड’ अहिले विकासको प्रतीक होइन सरकारी उपेक्षा र वेवास्थाको जिउँदो प्रमाण बनेको छ।

सडकभरि खाल्डाखुल्डी, ठाउँ ठाउँमा पहिरो, हिलो र धुलोले भरिएको छ। कुसल इन्जिनियरिङबिना डोजर चालककै विवेकको भरमा ट्रयाक खोलिएको सडकमा सामान्य मोटरसाइकल यात्रा पनि जोखिमपूर्ण बनेको छ। एम्बुलेन्सदेखि सार्वजनिक सवारी साधन यो सडकमा चल्दालच्दै आफै बिरामी हुने अवस्था सामान्य बनेको छ।

यस सडकका कैयौँ खोलामा अझैसम्म पक्की पुल निर्माण हुन सकेका छैनन्। वर्षायाममा पानीको बहाव बढेपछि स्थानीयले खोला तर्न आफ्नो ज्यान नै हत्केलामा राख्नुपर्ने नियति आज पनि उस्तै छ।

विद्यालय जाने विद्यार्थी, उपचारका लागि अस्पताल हिँडेका बिरामी, सरकारी कार्यालय पुग्नुपर्ने सेवाग्राही र दैनिक रोजगारीका लागि यात्रा गर्ने नागरिक सबै एउटै जोखिम मोलेर यात्रा गर्न वाध्य भएको स्थानीय उत्तमबहादुर गुरुङले गुनासो पाेखे।

उनी भन्छन्, ‘सडक छैन, पुल छैन, वर्षामा गाउँ नै टापु बन्छ। बिरामी परे अस्पताल पुर्‍याउन सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले पिराेलिरहन्छ हुन्छ। पुस्ताैँदेखिको यो नियति आजसम्म पनि उस्तै छ।’

नयाँ निर्माण झन जोखिम

चाैमाला–गर्भा दरबार खण्डमा केही बजेट विनियोजन भएर निर्माण कार्य सुरु भए पनि ठेकेदारले समयमै काम सम्पन्न नगर्दा सडक झन् जोखिमपूर्ण बनेको छ।

सडक विस्तारका नाममा ठाउँ–ठाउँमा कच्चा पहाड डोजरले काटिएको छ, तर आवश्यक संरक्षणका काममा ढिलाइ गरिएको छ। जसका कारण वर्षायाममा पहिरो झर्ने, ढुंगा खस्ने, सडक अवरुद्ध हुने र पैदल यात्रुको ज्यान जोखिममा पर्ने खतरा उच्च छ।

स्थानीयका अनुसार सडक निर्माणले सहजता ल्याउनुपर्नेमा अहिले झन् असुरक्षा थपेको छ। कतिपय स्थानमा सामान्य वर्षा हुँदा पनि सडक बन्द हुन्छ। यात्रु घण्टौँ बाटोमै अलपत्र पर्छन्। सडक निर्माणको ढिलासुस्तीले विकासको गति मात्रै रोकेको छैन, नागरिकको दैनिक जीवन नै प्रभावित बनाएको छ।

सडकको दयनीय अवस्थाले चुरे क्षेत्रको अर्थतन्त्र पनि प्रभावित भएको छ। किसानले उत्पादन गरेको अन्न, तरकारी, फलफूल र खसीबोका समयमै बजार पुर्‍याउन नसक्दा उचित मूल्य पाउन सकेका छैनन्।

ढुवानी खर्च बढ्दा उपभोग्य वस्तुको मूल्य महँगो भएको छ। शिक्षा, स्वास्थ्य र सरकारी सेवा प्राप्त गर्न पनि नागरिकले धेरै समय, पैसा र जोखिम माेल्नु परेको छ।

सबैभन्दा ठूलो पीडा भने विकासको आशा बारम्बार टुट्नु हो। हरेक निर्वाचनमा यो सडक प्राथमिकतामा पार्ने वाचा गरिन्छ। तर हार्नेहरु मात्र होइन जितेर जनप्रतिनिधि बन्नेहरुले पनि यहाँकाे समस्या सम्बन्धित निकायमा उठाइसम्म दिँदैनन्।

वर्ष फेरिन्छ, सरकार फेरिन्छ, जनप्रतिनिधि फेरिन्छन्, तर सडकको नियति भने कहिल्यै फेरिँदैन। यसपटक पनि त्यस्तै भएको गुनासो स्थानीयको छ।

स्थानीयवासीको गुनासो छ— सम्बन्धित निकाय, जनप्रतिनिधि, प्रदेश सरकार र संघीय सरकारले चाैमाला–खैराला सडकलाई कहिल्यै वास्तविक प्राथमिकतामा राखेनन्। विकासका भाषण धेरै सुनिए, तर नागरिकले अनुभूति गर्ने विकास भने अझै सडकमै अलपत्र छ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित र सहज आवागमनको अधिकार सुनिश्चित गरेको छ। तर चुरेका नागरिकका लागि त्यो अधिकार अझै कागजमै सीमित देखिन्छ। उनीहरू आज पनि हिलो, धुलो, खोल्सा र पहिरोसँग लड्दै दैनिक जीवन बाँचिरहेका छन्।

करिब २० वर्षअघि विकासको एउटा सम्भावना बोकेको यो सडक अहिले किहल्यै हल नहुने प्रश्न जस्तै बनेर उभिएको छ— राज्य आफ्ना नागरिकसम्म आखिर कहिले पुग्छ?

चुरेका बासिन्दाको एउटै आग्रह छ— उनीहरूलाई विलासी सडक चाहिएको होइन, वर्षभरि सुरक्षित रूपमा हिँड्न मिल्ने एउटा भरपर्दो सडक चाहिएको हो। उनीहरू वाचायुक्त भाषण होइन, विकासको अनुभूति खोजिरहेका छन्।

र त्यसैले आज पनि चुरेका प्रत्येक बस्तीबाट एउटै प्रश्न छ-

‘हामीले राज्य भएको अनुभूति आखिर कहिले गर्ने?’

खैराला_ चाैमाला मोटरबाटाे

ट्रेन्डिङ ( साप्ताहिक )