Logo
१७ असार २०८३, बुधबार

आपूर्ति रोकेको आशंकामा १४ पेट्रोल पम्पमा निगमको ताला, मौज्दात नभेटिएपछि फेरि खोलियो

अक्षरपाटी
२०८३ असार १७ , बुधबार १०:०७ मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै कृत्रिम अभाव सिर्जना भएको जनगुनासो बढेपछि नेपाल आयल निगमले काठमाडौं र पोखराका १४ वटा पेट्रोल पम्पमा ताला लगायो।

तर, अनुगमनका क्रममा ती पम्पमा इन्धन नै नभएको पुष्टि भएपछि निगमले केही छिनमै ताला खोलेको हो।

मूल्य समायोजनपछि केही पेट्रोल पम्पले उपभोक्तालाई पेट्रोल बिक्री नगरी कृत्रिम अभाव सिर्जना गरेको गुनासो आएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमलाई तत्काल बजार अनुगमन गर्न निर्देशन दिएकी थिइन्।

मन्त्रीको निर्देशनपछि निगमको टोलीले काठमाडौंका ८ र पोखराका ६ वटा पेट्रोल पम्पमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनका क्रममा सम्बन्धित पम्पहरूले ‘तेल छैन’ भन्दै बिक्री वितरण रोकेको पाएपछि निगमले तत्काल ताला लगाएको थियो।

ताला लगाइएका पम्पहरूमा काठमाडौंका सिता फ्युल (महाराजगञ्ज), थ्री ब्रदर्स (नयाँ बानेश्वर), हरिसिद्धि आयल स्टोर (मीनभवन), भ्याली बाबा सप्लायर्स प्रालि (गैरीगाउँ), एलाइट फ्युल सेन्टर (सुकेधारा), मैतीदेवी आयल स्टोर (मैतीदेवी), वसुन्धारा आयल स्टोर्स र दिव्य सप्लायर्स (वसुन्धारा) रहेका छन्।

यस्तै पोखराका पश्चिमाञ्चल ट्रेडर्स प्रालि, पृथ्वीराजमार्ग पेट्रोलियम प्रालि, श्री ओम पेट्रोलियम ट्रेडर्स (पृथ्वीचोक), बृहस्पति आयल डिस्ट्रिब्युटर्स (नयाँबजार), कमला आयल स्टोर्स (पृथ्वीचोक) र अन्नपूर्ण आयल डिस्ट्रिब्युटर्स (बिरौटा) पनि कारबाहीमा परेका थिए।

पछि पम्प सञ्चालकहरूले आफ्नो डिपोमा इन्धन नै मौज्दात नरहेको जानकारी दिएपछि निगमले पुनः जाँच गरेको थियो। अनुगमनमा इन्धन नभएको पाइएपछि सम्बन्धित पम्पहरूलाई इन्धन उपलब्ध गराएर लगाइएको ताला खोलिएको निगमले जनाएको छ।

निगमका अनुसार हाल देशभर पेट्रोलियम पदार्थको आपूर्ति सहज रहेको र सबै पेट्रोल पम्पबाट नियमित रूपमा इन्धन बिक्री–वितरण भइरहेको छ।

तस्वीर : AI को सहयोगमा

अनुगमन नेपाल आयल निगम पेट्रोल पम्पमा ताला