Logo
२६ असार २०८३, शुक्रबार

आपूर्तिमन्त्री यादव र युएईका वैदेशिक व्यापार मन्त्रीबीच भेट, नेपालको कृर्षि र रेलवे क्षेत्रमा युएईको चासो

अक्षरपाटी
२०८३ असार २६ , शुक्रबार ०४:०७ मा प्रकाशित

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र संयुक्त अरब इमिरेट्स (युएई) का वैदेशिक व्यापार मन्त्री डा. थानी बिन अहमद अल जियोडीबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो। दुई देशका मन्त्री तथा उच्च अधिकारीहरू सम्मिलित उक्त बैठकमा द्विपक्षीय व्यापार, लगानी र सहकार्यका विविध आयामबारे छलफल भएको हो।

भेटका क्रममा युएईका मन्त्री डा. थानीले नेपालको नयाँ सरकारप्रति भरोसा व्यक्त गर्दै युएई नेपालका विभिन्न औद्योगिक क्षेत्रमा लगानी गर्न पूर्ण रूपमा तयार रहेको बताए। उनले लगानीको वातावरण सहज बनाउँदै सहकार्यको बाटो खोल्न मन्त्री यादवसमक्ष अनुरोध समेत गरे।

कृषि र रेलवे क्षेत्रमा विशेष चासो

युएईले विशेष गरी नेपालको कृषि क्षेत्रमा लगानी गर्न विशेष रुचि देखाएको छ। मन्त्री डा. थानीले कृषि परियोजनाहरूमा लगानीका लागि सहजीकरण गरिदिन आग्रह गरे।

यसैगरी, युएईबाट आएका उच्चस्तरीय प्रतिनिधिमण्डलका सदस्यहरूले नेपालको रेलवे (रेल वयर) क्षेत्रमा निजी क्षेत्रको तर्फबाट लगानी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि कानुनी एवं व्यावहारिक सहजताको अपेक्षा राखेका छन्।

आईटी र डाटा सेन्टर स्थापनाको योजना

नेपालका लागि युएईका राजदूतसहित सहभागी भएको उक्त जम्बो टोलीले नेपालको सूचना प्रविधि क्षेत्रमा ठूलो सम्भावना देखेको बताएको छ। युएई सरकारले नेपालमा हरित डाटा सेन्टर स्थापना गर्ने सोच बनाएको र यसका लागि आवश्यक लगानी भित्र्याउन आफूहरू तयार रहेको जानकारी गराएको छ।

कृषि उत्पादको निर्यात र गुणस्तर मापनमा सहयोग

नेपालमा उत्पादन हुने फलफूल तथा तरकारी जस्ता कृषि उपजहरूलाई युएईमा निर्यात गर्ने सम्बन्धमा दुवै देशबीच आपसी सहमति कायम गर्ने प्रतिबद्धता जनाइएको छ।

नेपाली उत्पादनको निर्यातलाई सहज बनाउन खाद्य गुणस्तर निर्धारण र स्टान्डर्डाइजेसन (प्रमाणीकरण) का क्षेत्रमा आवश्यक लगानी र प्राविधिक सहयोग गर्न युएई पक्ष सकारात्मक देखिएको छ।

डा. थानी बिन अहमद अल जियोडी मन्त्री गौरीकुमारी यादव संयुक्त अरब इमिरेट्स