


काठमाडौं । गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा मन्त्रीहरूको जम्बो टोलीले आइतबार भक्तपुरस्थित खरिपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको स्थलगत अवलोकन गरेको छ।
अवलोकन टोलीमा भूमि व्यवस्था मन्त्री प्रतिभा रावल, महिला, बालबालिका मन्त्री सिता बादी, स्वास्थ्य मन्त्री निशा मेहता, सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोख्रेल र श्रम मन्त्री रामजी यादव सहभागी थिए।
टोलीले खरिपाटी र बोडेमा सुकुम्बासीका लागि व्यवस्थापन गरिएको होल्डिङ सेन्टरको भौतिक पूर्वाधार, बसोबासको अवस्था, स्वास्थ्य तथा सरसफाइ, खानेपानी, सुरक्षा व्यवस्था र उपलब्ध सेवासुविधाबारे जानकारी लिएको थियो।
अवलोकनका क्रममा मन्त्रीहरूले सम्बन्धित निकायका अधिकारीसँग होल्डिङ सेन्टरको वर्तमान अवस्था, सेवा प्रवाह तथा आवश्यक सुधारका विषयमा छलफल गरेका थिए। उनीहरूले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका परिवारको अवस्था बुझ्दै आवश्यक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको जनाइएको छ।
सरकारले सुकुम्बासी तथा विस्थापित परिवारका लागि सञ्चालनमा ल्याइएका होल्डिङ सेन्टरको व्यवस्थापनको विषयलाई लिएर व्यापक आलोचना हुँदै आएको छ।
उनीहरूको खानपान, स्वास्थ्य, शिक्षा र बसोबासमा सरकार संवेदनशील नभएको गुनासो व्यापक बढ्न थालेपछि मन्त्रीहरूको टोली टोली होल्डिङ सेन्टर अवलोकनमा पुगेको हो।


