


धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (एमाले) बाट सरकारमा सहभागी चार जना मन्त्रीलाई बर्खास्त गरेका छन्। सत्ता साझेदार दलबीच बजेटलाई लिएर बढ्दै गएको विवाद चुलिएपछि मुख्यमन्त्री शाहले यस्तो निर्णय लिएका हुन्।
बर्खास्त हुनेहरूमा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की तथा भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन्।
यसअघि मुख्यमन्त्री शाहले एमाले नेतृत्वसँग सरकारमा रहने वा बाहिरिने विषयमा तत्काल स्पष्ट निर्णय गर्न आग्रह गरेका थिए। सो आग्रहपछि एमाले आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री शाह पनि वैकल्पिक राजनीतिक समीकरणबारे परामर्शमा रहेका थिए। स्रोतका अनुसार एमालेले सरकारलाई निरन्तरता नदिने संकेत गरेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन्।
बजेट विवादले सम्बन्ध चिसियो
सुदूरपश्चिम सरकारमा कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३-८४ को बजेटलाई लिएर लामो समयदेखि मतभेद रहँदै आएको थियो। एमालेले बजेटमा खर्च कटौतीको प्रस्ताव अघि सारेको थियो भने प्रतिपक्षी नेकपाले पनि प्रदेश सभा सचिवालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको थियो।
मुख्यमन्त्री शाहले उक्त प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले त्यसमा सहमत भएको थिएन। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताबीच सत्ता साझेदारबीचको विवादले सरकार थप अप्ठ्यारोमा परेको थियो।
कार्यदल गठनको प्रयास पनि असफल
स्रोतका अनुसार बजेट संशोधनका लागि कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने विषयमा छलफल भएको थियो। तर एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट ल्याउने तथा सरकारको नेतृत्व परिवर्तन जस्ता प्रस्ताव अघि सारेपछि सहमतिको प्रयास सफल हुन सकेन।
नयाँ सत्ता समीकरणको सम्भावना
एमालेका मन्त्री बर्खास्त भएसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण बन्ने सम्भावना बढेको छ। राजनीतिक वृत्तमा एमाले र नेकपाबीच सहकार्यको चर्चा तीव्र बनेको छ भने केही नेताहरूले कांग्रेसलाई समेत समेटेर नयाँ राजनीतिक सहमति खोज्नुपर्ने धारणा व्यक्त गरिरहेका छन्।
मन्त्री बर्खास्त सुदूरपश्चिम प्रदेश

