


काठमाडौँ। रुकुम पूर्व जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका निवासी ज्यान जोखिममा परेकी गर्भवती महिला मनकी पुनको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत सफल हवाई उद्धार गरिएको छ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्थानीय स्वास्थ्य संस्थाको सिफारिस र चिकित्सकीय मूल्याङ्कनका आधारमा उनलाई तत्काल हवाई उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्याइएको हो। समयमै गरिएको उद्धारका कारण उनले विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेकी छन्।
नेपाल सरकार, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित निःशुल्क हवाई उद्धार सेवामार्फत दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती, सुत्केरी तथा नवजात शिशुलाई समयमै सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पुर्याई जीवन रक्षा, सुरक्षित मातृत्व तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
मन्त्रालयले मातृ तथा शिशु स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै दुर्गम तथा विकट क्षेत्रका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस्ता जीवनरक्षक सेवाहरूलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको छ।


