


कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित हुने–नहुने अन्योल गहिरिँदै गएको छ। सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएर आफ्ना चार मन्त्री सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कमलबहादुर शाह बजेट जोगाउन वैकल्पिक राजनीतिक समीकरणको खोजीमा जुटेका छन्।
भोलिसम्म प्रदेश सरकारले बजेट पारित गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मुख्यमन्त्री शाहले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सहयोगको आग्रह गरेका छन्।
स्रोतका अनुसार मुख्यमन्त्री शाहले नेकपा संसदीय दलका नेता खगराज भट्टलाई फोन गरी छलफलका लागि आग्रह गरेका थिए। त्यसपछि भट्टले पूर्वमन्त्री मानबहादुर धामी र रमेश धामीलाई मुख्यमन्त्रीसँग संवादका लागि पठाएका थिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब ३० मिनेट भएको छलफलमा मुख्यमन्त्री शाहले बजेट पारित गराउन सहयोग मागेका थिए। छलफलमा उनले अहिले बजेट पारित गरिदिन आग्रह गर्दै त्यसपछि सरकारको नेतृत्व हस्तान्तरण गर्नसमेत आफू तयार रहेको प्रस्ताव राखेका थिए।
‘पौने एक अर्ब रुपैयाँजति बजेट दोहोरिएको छ, त्यसलाई मिलाऔँ। अहिले बजेट पास गर्न सहयोग गर्नुहोस्, त्यसपछि नेतृत्व हस्तान्तरण गर्न पनि तयार छु,’ मुख्यमन्त्री शाहको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी नेताहरूले बताएका छन्।
तर नेकपाका प्रतिनिधिहरूले यथास्थितिमा बजेटलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन्। उनीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देश सुनाउँदै तीन प्रमुख राजनीतिक दलबीच नयाँ सहमति आवश्यक रहेको धारणा मुख्यमन्त्रीसमक्ष राखेका थिए।
‘मुख्यमन्त्रीज्यूले बजेट पारित गर्न साथ चाहियो भन्नुभएको थियो। हामीले उहाँको कुरा सुन्यौँ र पार्टीको धारणा राख्यौँ,’ पूर्वमन्त्री मानबहादुर धामीले भने, ‘यथास्थितिमा बजेट पारित गर्न सक्दैनौँ।’
नेकपाले बजेट पुनर्लेखन गर्नुपर्ने र प्रदेशको नेतृत्व आफूहरूलाई दिनुपर्ने सर्त अघि सारेको छ।
‘प्रदेशसभामा नेकपा सबैभन्दा ठूलो दल हो। नेतृत्व हामीलाई दिने र बजेट पुनर्लेखन गर्ने हो भने त्यसबारे छलफल हुन सक्छ। अहिलेको अवस्थामा बजेटलाई समर्थन गर्न सकिँदैन,’ नेकपाको धारणा रहेको छलफलमा सहभागी नेताहरूले बताएका छन्।
सत्ता साझेदार एमालेले नै बजेटको चर्को विरोध गरिरहेको अवस्थामा प्रमुख प्रतिपक्ष नेकपाले पनि समर्थन गर्न अस्वीकार गरेपछि मुख्यमन्त्री शाह थप दबाबमा परेका छन्।
यद्यपि मुख्यमन्त्री शाहले वैकल्पिक सहमतिका लागि थप राजनीतिक संवाद जारी राख्ने संकेत दिएका छन्।
उता नेकपाले पनि शुक्रबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ। बैठकमा प्रदेशको पछिल्लो राजनीतिक अवस्था, बजेट र सरकारको भविष्यबारे रणनीति तय गरिने जनाइएको छ।
मुख्यमन्त्री कमलबहादुर शाह सुदूरपश्चिम प्रदेश

