Logo
५ असोज २०८३, सोमबार

ड्राइभिङ लाइसेन्सका ६ लाखभन्दा बढी रेकर्ड शंकास्पद, देशभर ईडीएल र भीआरएस प्रणाली कार्यान्वयनमा

अक्षरपाटी
२०८३ साउन २२ , शुक्रबार ०९:०८ मा प्रकाशित

काठमाडौं । सरकारले लागू गरेको नयाँ इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणाली कार्यान्वयनसँगै विगतका लाइसेन्स अभिलेखमा रहेका गम्भीर त्रुटिहरू सार्वजनिक भएका छन्।

यातायात व्यवस्था विभागका अनुसार ६ लाखभन्दा बढी पुराना ड्राइभिङ लाइसेन्सका रेकर्डमा परीक्षा तथा विवरणसम्बन्धी त्रुटि फेला परेकाले धेरै सेवाग्राहीको नवीकरण र विवरण अद्यावधिक प्रक्रिया प्रभावित भएको छ।

विभागका अनुसार ३ लाख १० हजार ९६५ वटा ड्राइभिङ लाइसेन्स लिखित वा ट्रायल परीक्षाको स्पष्ट अभिलेखबिनै जारी भएको पाइएको छ। त्यस्तै ४७ हजार ८१७ अभिलेखमा लिखित परीक्षामा असफल देखिए पनि ट्रायल उत्तीर्ण भएको विवरण भेटिएको छ। अर्को ३ लाख १४ हजार ९८० लाइसेन्समा लिखित र ट्रायल दुवैको अभिलेखबिना नै लाइसेन्स जारी गरिएको तथ्य फेला परेको विभागले जनाएको छ।

यही कारण राष्ट्रिय परिचयपत्रको विवरण र पुरानो अभिलेखबीच विवरण नमिल्ने सेवाग्राहीका आवेदन तत्काल स्वीकृत हुन नसकेको विभागको भनाइ छ। विभागका अनुसार यो समस्या नयाँ ईडीएल प्रणालीको कमजोरी नभई वर्षौंदेखि प्रयोग हुँदै आएको म्यानुअल अभिलेखमा रहेका त्रुटिको परिणाम हो।

त्रुटिपूर्ण अभिलेख सच्याउन सेवाग्राहीलाई अनलाइनबाट विवरण अद्यावधिकका लागि आवेदन दिने र आवश्यक परे समय निर्धारण (टाइम स्लट) अनुसार कार्यालयमा उपस्थित भएर रेकर्ड सच्याउने व्यवस्था गरिएको छ। पुराना अभिलेख शुद्धीकरण भएपछि सेवा थप सहज र पूर्ण रूपमा स्वचालित हुने विभागको विश्वास छ।

सरकारले यातायात सेवा डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउन देशभर ईडीएल र भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) लागू गरेको छ। नयाँ प्रणालीमार्फत आवेदन, स्वास्थ्य परीक्षण, राजस्व भुक्तानी र लाइसेन्स नवीकरणलगायत अधिकांश सेवा अनलाइनबाटै उपलब्ध हुने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

मन्त्रालयका अनुसार प्रणाली लागू भएपछि हालसम्म ५५ हजारभन्दा बढी सेवाग्राहीले डिजिटल माध्यमबाट सेवा लिइसकेका छन् भने ५७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको छ। विभागले संक्रमणकालीन अवधिमा देखिएका समस्या क्रमशः समाधान हुँदै जाने र पुराना अभिलेखको शुद्धीकरण सम्पन्न भएपछि लाइसेन्स सेवा अझ प्रभावकारी हुने जनाएको छ।

ड्राइभिङ लाइसेन्स

ट्रेन्डिङ ( साप्ताहिक )